प्यार अलि खान
प्यूठान । सरुमारानी गाउँपालिका वडा नं २ ददेरीमा एक घर एक धारा बनेकाे छ।
२ सय ८ वटा निजी धारा तथा ४ वटा संस्थागत धारा वितरण गरिएको वडा अध्यक्ष बसन्त बहादुर जिसीले जानकारी दिनुभयाे।
बस्ती नजिकैको राप्ती नदी किनारामा सम्पवयल निर्माण गरिएको छ। पानीलाई लिफ्ट मार्फत करिब ४ सय मिटरको दुरीमा अवस्थित डाडाँमा आरबिटी ट्याङ्की निर्माण गरि पानी संकलन गरिँदै आएको छ।
‘१ लाख २० हजार लिटर क्षमताको आरबिटी पानी ट्याङ्की निर्माण गरेका छौं।’ वडा अध्यक्ष जिसीले भन्नुभयाे, ‘२० वर्ष सम्म हाम्रो जनसंख्याको भारलाई थेग्न सक्ने आंकलन गरेका छौं।’
सरुमारानी गाउँपालिकाले खानेपानी योजनाको लागि आ.व. २०७४/०७५ मा २७ लाख रुपैयाँ, आव २०७६/०७७ मा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। योजना सफल बनाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले पम्प हाउसको निर्माण, मोटर, जिआई पाइप, वितरण लाईनमा प्रयोग हुने प्लास्टिक पाइप तथा फिटिंग सामग्री उपलब्ध गराएको थियो।
२०५२ देखि ०५८ सम्म यहाँका स्थानीयहरुले टोल-टोलमा निर्माण गरिएका धाराबाट पानीको उपभाेग गर्दै आएपनि उक्त खानेपानी योजना जीर्ण बन्दा कुवा, पधेरा तथा खोलाको जरुवाबाट खानेपानीकाे जाेहाे गरेका थिए।
२० वर्ष पछि घरघरमा धारा आउँदा स्थानीय दंग छन्। खानेपानी योजनालाई व्यवस्थित गर्न स्थानीय उपभोक्ता समिति समेत गठन गरिएको छ। खानेपानी योजनाबाट करिब १ हजार ३ सय जनसंख्या लाभान्वित भएको वडा कार्यालयले जनाएको छ।
