प्यूठान । जिल्लामा उच्च रक्तचाप समस्याका विरामी धेरै देखिएको छ । ‘नसर्ने रोगको स्क्रिनिङ्ग अभियान – २०८२’ अन्तरगत गरिएको स्वास्थ्य परीक्षण जाँचको प्रारम्भिक नतिजा अनुसार यस्तो देखिएको हो ।
३० वर्ष उमेर माथिका १२ हजार ८८४ जनामा गरिएको परीक्षणमा ४० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । २१ प्रतिशतमा पिसावमा प्रोटन (मृगौला सम्वन्धी हुन सक्ने समस्याको संकेत)को समस्या, २० प्रतिशतमा सुगर, र ४३ प्रतिशतमा हुनुपर्ने भन्दा धेरै तौलको समस्या देखिएको कार्यालयले जनाएको छ ।
२१ हजार ६१२ जनाको लक्ष्य तोकीएकोमा फागुन ५ गतेसम्म ५९ दश्मलव ६२ प्रतिशतमा जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्क्रिनिङ्ग निरन्तर चलिरहेकोल सेवा लिनका लागि वडाको स्वास्थ्य संस्थामा सम्पर्क राख्न कार्यालयले अनुरोध समेत गरेको छ ।

