> समाज > प्यूठानका किशोरीलाई एचपिभी खोप, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुद्धारा शुभारम्भ


प्यूठानका किशोरीलाई एचपिभी खोप, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री सारुद्धारा शुभारम्भ

प्यूठान । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप कार्यक्रम लुम्बिनी प्रदेशमा शुभारम्भ भएको छ । आईतबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्यूठानमा एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको हो ।

 

प्यूठानमा भएको खोप कार्यक्रम उद्घाटन गर्दै मन्त्री सारुले महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप देशभर ३ लाख ५० हजार र लुम्बीनी प्रदेशमा ६१ हजार किशोरीलाई दिईने उल्लेख गर्नुभयो । ‘रोग लाग्नु भन्दा पहिले नै सचेतता अभियानको रुपमा खोप कार्यक्रम संचालन गरिएको छ ।’ ,उहाँले भन्नुभयो, ‘खोपका माध्यमबाट स्वस्थ नागरिक बनाउने सरकारको नीति अनुरुप कार्यक्रम संचालन गरिएको छ ।’ खोप कार्यक्रममा कक्षा ६ मा अध्ययनरत किशोरी र समुदायमा रहेका १० देश १४ वर्ष उमेर समुहका किशोरीहरु सहभागी हुनेछन् ।

 

नेपाल सरकारले तीनै तहका सरकार मार्फत क्यान्सर रोकथामका लागि विभिन्न प्रयासहरु गर्दै आएको स्वास्थ्य मन्त्री सारुले बताउनुभयो । ‘९०–९०–९० अभियान सरकारले संचालन गरेको छ ।’, उहाँले भन्नुभयो, ‘किशोरीहरुमा कम्तिमा ९० प्रतिशत खोपको सुनिश्चितता, ३० देखि ४९ वर्ष उमेर समुहका महिलाहरुमा कम्तिमा ९० प्रतिशत पहिचान गर्ने र ९० प्रतिशत क्यान्सरको उपचार गर्ने सरकारको रणनीति रहेको छ ।’

 

सरकारी तथ्याङ्क अनुसार नेपालमा २ हजार १६९ जनामा बार्षिक पाठेघरको मुखको क्यान्सर देखापर्ने र १ हजार ३१३ जनाले यसैका कारण ज्यान गुमाउने गरेका छन् । विश्वव्यापीरुपमा बार्षिक ५ लाख ७० हजारमा क्यान्सर देखा पर्ने र सन् २०३० सम्म ७ लाख पुग्ने अनुमान गरिएकोले यसको रोकथामका लागि सरकारले अभियान संचालन गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो । प्यूठान जिल्लाका नौ वटै पालिकामा संचालन गरिने खोप कार्यक्रमबाट २ हजार ९११ जना किशोरी लाभान्वित हुने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

 

कालिका आवसिय माध्यमिक विद्यालय विजुवार टारीमा भएको शुभारम्भ कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यपाक दुर्गा गुरुङले मन्त्री सारुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

क्यान्सर रोगीहरुको स्थिति भयावह
लुम्बिनी प्रदेशमा क्यान्सर रोगीहरुको स्थिति भयावह देखिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनुभयो । महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानको प्यूठानमा शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘तीन वर्ष अघिको र अहिलेको तथ्यांक हेर्दा ३ सय प्रतिशतले नसर्ने रोगीहरुको संख्या बढेको छ ।’ ,उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले सबै प्रकारका क्यान्सर, मुटु र मृगौला रोगीहरुका लागि दिने गरेको सहायताको खर्चले यस्तो स्थिति देखिएको हो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारले ३ हजार ८५१ जनालाई आर्थिक सहायता मार्फत १९ करोड सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले तीन वर्ष अघि १ हजार २२४ जनालाई ९ करोड रुपैंया सहयोग उपलब्ध गराएको थियो । प्रदेश सरकारले तोकीएका दिर्घ रोगीहरुलाई उपचारका लागि प्रति व्यक्ति २ लाख रुपैंयासम्म सहयोग गर्दै आएको छ ।