> समाज > प्रथम चौमासिक प्रगति सार्वजनिक गर्दै सरुमारानीको सार्वजनिक सुनुवाई सम्पन्न


प्रथम चौमासिक प्रगति सार्वजनिक गर्दै सरुमारानीको सार्वजनिक सुनुवाई सम्पन्न

प्यूठान । सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहल बड्डाँडामा प्रथम चौमासिक प्रगति सार्वजनिक गर्दै सुनुवाई गरिएको हो ।

कार्यक्रममा प्रशासकीय अधिकृत लक्ष्मण आचार्यले चौमासिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पालिकाले सहज रुपमा सूचना तथा जानकारी प्रदान गर्ने उदेश्यले आफ्‌नो वेभसाईटमा नियमित रुपमा कार्यपालिकाको निर्णय, बजेट तथा कार्यक्रम, सूचनाहरु राख्ने गरेको बताउनुभयो । चालु आर्थिक वर्षको लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता भएको उहाँले बताउनुभयो ।

 

गाउँपालिकाले प्रथम चौमासिकमा २९ लाख ९ हजार २५६ रुपियाँ आन्तरीक आम्दानी गरेको छ । यस वर्ष ९४ लाख ८१ हजार रुपियाँ आन्तरीक आम्दानी संकलन गर्ने लक्ष्य लिइएको छ । प्रथम त्रैमासिकमा पालिकाले १ हजार ९७५ जनालाई १ करोड ७९ लाख ८० हजार ८९२ रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गरेको प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । उपभोक्ता समितिलाई अभिमुखिकरण, आँखा शिविर, बजार अनुगमन, विभिन्न कार्यक्रमको सम्झौता लगायतका काम प्रथम चौमासिकमा भएको उहाँले जानकारी दिनुभयो ।

 

कार्यक्रममा उठेका सवालहरुको जवाफ गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले दिनुभएको थियो । उहाँले पालिकाले आफ्‌नो जवाफदेहिताका लागि नियमित रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको बताउँदै गाउँसमाजको विकासका लागि नागरिकको पनि जिम्मेवारी हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश तथा संघका योजनाहरु अलपत्र परेको विषयमा पालिकाले जवाफ दिनुपरेको उहाँको गुनासो छ ।

 

गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले जनताको आवश्यकता अनुसारका योजना कार्यान्वयन गर्न पालिकाले काम गरिरहेको बताउनुभयो । पालिका सुशासनको पक्षममा जिम्मेवार भएर अघि बढेको उहाँले बताउनुभयो । जनताको सेवालाई सहज रुपमा प्रदान गर्न प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

 

कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका टिकाराम पल्ली र नेपाली कम्युनिष्ट पार्टीका गुप्त बहादुर रानाले बोल्नुभएको थियो । ककार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिती थियो ।

 

मल्लरानी मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले गर्नुभएको थियो भने सञ्चालन सुजल श्रेष्ठले गर्नुभएको थियो ।