प्यूठान । माण्डवी गाउँपालिकाले शैक्षिक शत्र २०७९ मा सञ्चालन गर्ने अतिरिक्त कृयाकलाप र शैक्षिक गतिविधि समेटेर शैक्षिक क्यालेण्डर तयार गरेको छ । गाउँपालिकाकोे शैक्षिक सुधार गर्ने उदेश्यले शैक्षिक क्यालेण्डर तयार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले बताउनुभयो ।
विद्यालयको कक्षाकोठा भित्र र बाहिर सञ्चालन गर्ने कृयाकलाप, योजनाबद्ध शैक्षिक गतिविधि सञ्चालनमा सहजता ल्याउनका लागि कार्ययोजना बनाएर क्यालेण्डरमा समावेश गरिएको कार्कीको भनाई छ । उक्त कार्ययोजनाले पालिका भित्रका सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।
भर्ना अभियान
पालिकाले नयाँ शैक्षिक शत्रमा भर्ना अभियानलाई प्रभावकारी बनाउन योजना समेत बनाएको छ । भर्ना अभियान अन्र्तगत अभिमुखिकरण, कायौयोजना निर्माण, टोल भेला कार्यक्रम संचालन, टोल समिति गठन र अभिभावक परिचालन, साथीखोज अभियान, विद्यालयमा बालबालिकालाई स्वागत, जिंगल प्रशारण, विद्यार्थीको संचित अभिलेख व्यवस्थापन गरिनेछ ।
त्यसैगरि, सहज रुपमा भर्ना हुन नआउने बालबालिकालाई घरमै गई भर्ना गर्ने, कठिन अवस्थाका बालबालिकाको पहिचान र रिफरल सेवा, १० कक्षाको परीक्षा दिएका र कक्षा ११ र १२ का बालबालिकाहरुको परिचालन र अति विपन्न विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरी शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको शाखा प्रमुख तुल्सी कार्कीले बताउनुभयो ।
![](https://pyuthansamachar.com/wp-content/uploads/2020/09/119033315_322448785529119_2565593163984391492_n.jpg)