प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले चालु आर्थिक वर्षमा भएका कार्यक्रमको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष तिलक जिसीले बस्ती स्तरबाटै पालिकाको योजना छनौट हुने बताउँदै सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रम तय भएपछि मात्र योजनाहरु माग गर्ने गरेको भन्दै त्यस अगावै समस्या राख्न सुझाव दिनुभयो ।
कार्यक्रममा अध्यक्ष जिसीले प्रदेश तथा संघ मार्फत सञ्चालन भएका योजना कार्यान्वयन गराउन आफूले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीले खानेपानी समस्या, किसानको समस्या लगायतका विषय उठाएका थिए । सार्वजनिक सुनुवाईमा वडामा कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा समस्या, अनुदान वितरण लगायतका सवाल उठेको थियो ।
अध्यक्ष जिसीले प्रदेश र केन्द्र सरकारले सञ्चालन गर्ने योजनामा पालिकासँग समन्वय नभएको भन्दै गुनासो गर्नुभयो । पालिका तहबाट गर्न सकिने साना योजना समेत प्रदेश र केन्द्र सरकारबाट छुट्याउने गरेको उहाँको गुनासो छ । अध्यक्ष जिसीले निर्वाचनका बेला गरेका धेरे जसो प्रतिवद्धता पुरा भएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले पालिकामा सवै राजनीतिक दलसँग सहकार्य गरेर विकासको काम अघि बढेको बताउनुभयो । उहाँले राजनैतिक विभेद नगरि सवैको सहभागितामा विवादरहित काम गर्दै आएको उल्लेख गर्नुभयो । पालिकामा सवै दलको प्रतिनिधित्व रहेको भन्दै उहाँले सार्वजनिक सुनुवाईमा आगामी दिनमा झिमरुकलाई थप विकास गर्ने गरि अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
