स्वर्गद्धारी नगरपालिका प्यूठानको ९ वटा स्थानीय तह मध्येको एक नगरपालिका हो । जुन लुम्बिनी प्रदेशमा पर्दछ । समथर र पहाडी भुभाग मिलेर बनेको यस स्वर्गद्धारी नगरपालिकाको एउटा महत्वपूर्ण वडा हो ४ नम्वर वडा । जुन नगरपालिकाकै केन्द्रविन्दु हो ।
यस वडाभित्र नगरपालिकाको प्रशासकीय भवन, प्राथमिक स्वास्थ्य केन्द्र, आईसिटी पार्क, खेल मैदान लगायत विभिन्न भौतिक पूर्वाधार बनेका छन् । यो वडा भित्र पर्ने भिंगृ बजार क्षेत्रमा बैंक तथा वित्तिय संघ संस्था, व्यापार व्यवसाय विस्तार हुँदै गएको छ ।
स्वर्गद्धारीको आधार शिविरका रुपमा परिचित यस वडामा भिंगृ बजार, बाझिपुर, गोठिवाग, भिंगृकोट लगायतका बस्ती अवस्थित छन् । दलित, जनजाती, ब्राह्मण, क्षेत्री सवैको बसोबास यस वडामा रहेको छ ।
स्वर्गद्धारी नगरपालिकाको ४ नम्वर वडा साविकको भिंगृ गाविसको १ र २, गोठिवांग गाविसको ४, ५, ६ वडा मिलेर बनेको हो । वडामा करिव ३ हजार ४ सय ८ जनसंख्या रहेको छ । यो वडा १३ दशमलव ७५ वर्ग किलोमिटरमा फैलिएको छ । कृषि, पशुपालन र त्यसमा आधारित लघु उद्यमहरु यहाँको मुख्य आयश्रोतका क्षेत्र हुन् । बजार क्षेत्र भएकाले यहाँ पर्यटन व्यवसायसँग सम्वन्धित होटल व्यवसायहरु समेत सञ्चालनमा छन् ।
राज्य पुनः संरचनासँगै २०७३ सालमा स्वर्गद्धारी नगरपालिकाको स्थापना भएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट यस वडामा सुरेन्द्र हमालले वडाको नेतृत्व गर्नुभएको छ ।
४ नं. वडामा स्नातक तहसम्मको क्याम्पस सहित विद्यालय र बालविकास केन्द्र सञ्चालनमा छन् । भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य सेवा दिँदै आएको छ । अहिले यहाँ प्रस्तावित नरेन्द्र गायत्री आखा उपचार केन्द्रको शाखा समेत विस्तार भएको छ ।
अहिले यस वडाका अधिकांस वस्तीहरु सडक सञ्जालले जोडिएको छ । सडक सञ्जालले जोडिएका बस्तीलाई अव स्तरोन्नती गर्नुपर्ने आवश्यकता वडाले महशुस गरेको छ ।
एक घर, एक धारा अभियान अन्तरगत खानेपानी आयोजनाहरु संचालनमा छन् । गाउँगाउँमा खानेपानीको सुविधा पुगेको छ ।खानेपानीको अभावले समस्यामा पर्दै आएका यहाँका स्थानीयलाई खानेपानीका लागि धेरै समय खर्चनु पर्ने बाध्यता अहिले टरेको छ ।
राम्रो कृषि उत्पादनको सम्भावना रहेको यस वडाको कृषियोग्य जनिमलाई सिंचाई सुविधा पु¥याउन वडाले काम गर्दै आएको छ । सिंचाई सुविधाका लागि विभिन्न योजनाहरु कार्यान्वयन भई सिंचाई सुविधा उपलब्ध भएको छ । सिंचाई सुविधा भएपछि यहाँका स्थानीय तरकारी खेतीमा आकर्षित भएका छन् ।
यस वडाको पर्यटकीय आर्कषणको केन्द्रमा रहेको छ, आईटी पार्क । जसलाई गुरुयोजना अनुसार निर्माण गरि विकास गरिदैछ । स्वर्गद्धारी जाने सडक छेउ भिंगृकोटमा पर्यटकीय पोखरी समेत निर्माण गरिएको छ ।
खरको छाना विस्थापित गर्ने अभियान अन्तरगत यस वडा भित्र रहेका खरका छानालाई हटाएर जस्तापाता लगाइएको छ । पानी चुहिने, आगलागीको डर हुने भएकाले खरको छाना विस्थापित गरी जस्तापाताको छाना लगाएपछि स्थानीय खुशी भएका छन् ।
वडाको विकासका लागि वडाले नगरपालिका, प्रदेश सरकार, केन्द्र सरकार लगायत विभिन्न निकायसँग समन्वय र सहकार्य गर्दै काम अघि बढाएको छ । जसले गर्दा यस वडामा शिक्षा, स्वास्थ्य, सिंचाई, सडक, खानेपानी, खेलकुद लगायत क्षेत्रको विकास निर्माणले गति लिएको छ ।
शहरको रुपमा विकास हुँदै गएको भिंगृलाई व्यवस्थित बनाउन आवश्यक छ । यहाँ अहिले बसपार्क निर्माण भएको छ । खेलकुद क्षेत्रको विकासका लागि बाजिपुरमा खेल मैदान बनेको छ । सडक छेउमा सोलार बत्ति जडान गरिएको छ ।
स्थानीयको नजिकको सरकार वडा पालिकाले जनतालाई सहज रुपमा सेवा दिन निरन्तर लागि परेको छ । वडामा रहेका समस्या समाधानका लागि सहजीकरण गर्न जनप्रतिनिधी खटिदै आएका छन् । वडा कार्यालयले पनि सेवा प्रवाहलाई प्रभावकारी ढंगले चुस्त दुरुस्त बनाउँदै लगेको छ ।
स्थानीय तह बनेपछिको पहिलो कार्यकालमै यस वडामा महत्वपूर्ण काम भएका छन् । आगामी दिनमा थप विकास निर्माणका लागि विकासको आधार तय भएको छ । यसका लागि जनप्रतिनिधिको सक्रियता र जनताको सहभागिताले सम्भव भएको हो । जसका कारण स्वर्गद्धारी नगरपालिकाको केन्द्रविन्दु मानिने ४ नम्वर वडा समृद्धिको यात्रामा अघि बढेको छ ।
