> स्थानीय सरकार > मल्लरानीको सार्वजनिक सुनुवाई : दुई आर्थिक वर्षको बेरुजु शुन्य


मल्लरानीको सार्वजनिक सुनुवाई : दुई आर्थिक वर्षको बेरुजु शुन्य

प्यूठान । मल्लरानी गाउँपालिकाको विगतको दुई आर्थिक वर्षको बेरुजु शुन्य रहेको छ । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को बेरुजु शुन्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो ।

 

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अधिकृत थापाले पालिकामा महालेखा परिक्षकले औल्याएको बेरुजु फस्र्यौट गरिएको जानकारी दिनुभयो ।

दोस्रो चौमासिकमा मात्र गाउँपालिकाले २० प्रतिशत बजेट खर्च गरेको छ । ४० करोड ७४ लाख ४९ हजार ४५१ रुपियाँ बजेटमध्ये ८ करोड ५३ लाख ३२ हजार ६५३ रुपियाँ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । “धेरै योजना सम्पन्न हुने क्रममा छन्,” प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, “भुक्तानी नभइसकेकाले खर्च कम देखिएको छ ।”

यो आर्थिक वर्षको हालसम्म भने ३२ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म १३ करोड १८ लाख २६ हजार ५६० रुपियाँ खर्च भएको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले मल्लरानी गाउँपालिकाले शुसानको क्षेत्रमा महत्वपूणर् कार्य गरेको बताउनुभयो । उहाँले जिल्ला सदरमुकामको गाउँपालिका भएकाले पनि मल्लरानीले विभिन्न निकायसँग समन्वय सहकार्य गर्दै काम गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजालले सार्वजनिक सुनुवाई लगायतका सार्वजनिक कार्यक्रममा नागरिकको सहभागिता कम हुँदै गएको भन्दै त्यसतर्फ चासो दिनुपर्ने बताउनुभयो ।

 

उहाँले विकास निर्माणका काममा पनि नागरिक सहभागिता हुन छाडेको भन्दै राजनीतिक दलले गर्ने चुनावी प्रचार जस्तै विकास निर्माणमा नागरिकलाई जोड्न आवश्यक रहेको बताउनुभयो ।

 


कार्यक्रममा नेकपा माओवादी केन्द्र मल्लरानी गाउँकमिटी अध्यक्ष टिएस गुरुङले कला संस्कृतिको संरक्षण, गुठी जग्गा व्यवस्थापन लगायतका विषयमा गाउँपालिकाले चासो दिनुपर्ने बताउनुभयो । उहाँले बजारको फोहोर व्यवस्थापनमा पालिकाले चासो नदिएको गुनासो गर्नुभयो । “बजारको फोहोर जथाभावी फाल्ने गरिएको छ,” उहाँले भन्नुभयो “यसको व्यवस्थापन गरिएनभने महामारीको अवस्था आउनसक्छ ।”

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता जिसीले पालिकाले आफ्नो स्रोत साधनको उपलब्धताको आधारमा पालिकाले उत्कृष्ठ कार्य गरेको बताउनुभयो । उहाँले पालिकामा विकासको शुरुवात भएकाले आगामी दिनमा यसलाई अगाडी बढाउनतर्फ सवैले चासो दिनुपर्ने बताउनुभयो ।

 

गाउँपालिका अध्यक्ष अमरध्वज रानाले उठेका प्रश्नको जवाफ दिँदै पालिकाले असल नियतका साथ काम गर्ने गरेको र केही कमी कमजोरी भएको भए सुधार गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालले गरेको थियो भने सञ्चालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *