प्यूठान । सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले पालिकाभित्रको विकास निर्माणमा राजनैतिक पूर्वाग्रह विना काम भएको बताउनुभएको छ । गाउँपालिकाको दोस्रो चौमासिक चौमासिक कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले पालिका भित्रका सवैको अपनत्व हुनेगरी पालिकाले योजना निर्माण गरेर काम अघि बढाएको बताउनुभयो ।
खरको छाना मुक्त अभियान पुरा हुन नसकेको प्रश्नमा उहाँले केन्द्र सरकारले सुरक्षित आवास कार्यक्रम लागु गरेपछि पालिकाले उक्त योजना नराखेको र केन्द्र सरकारले बजेट निकासा नगर्दा अभियान अघि बढाउन नसकेको बताउनुभयो । “बस्तीका बस्ती खरका छाना मुक्त भएको छ,” उहाँले भन्नुभयो, “दोहोरो बजेट पर्ने भएकाले कार्यक्रम रोकिएको र सरकारले बजेट नपठाउँदा काम रोकिएको छ ।” कार्यक्रमबाट सम्पन्न गरेका व्यक्तिलाई समेत बजेट नआउँदा भुक्तानी दिन नसकिएको उहाँको भनाई छ ।
कृषि अनुदान मनमर्जी वितरण गरेको भन्ने गुनासोमा अध्यक्ष विश्वकर्माले भन्नुभयो, “यो असत्य हो, पाउनुपर्ने अनुदान कृषकले नै पाएका छन मात्र नपाउने कृषक धेरै छन् ।” केहि मानिसले मात्र अनुदान पाउने समस्या हल गर्न सामुहिक अनुदान वितरण गर्ने अभ्यास गर्नुपर्ने बताउनुभयो । “वल्लो घरकाले पाउने, पल्लो घरकाले नपाउने अवस्था छ,” उहाँले भन्नुभयो,“सामुहिक वितरणले मनमुटाव कम गर्छ ।”
पालिका स्तरीय अस्पताल निर्माण हुन नसकेको भन्दै उठेको प्रश्नमा अध्यक्ष विश्वकर्माले डिपिआरको काम सम्पन्न भएको बताउनुभयो । जग्गा व्यवस्थापनका लागि पहल भैरहेको उहाँले बताउनुभयो ।
बड्डाँडामा मान्द्रे सडक अधुरो भएको प्रश्नमा दानसिंहसम्म पुगेकाले जनताले राहत पाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
हंसपुर वृहत खानेपानी योजना किन सम्पन्न भएन भन्ने विषयमा अध्यक्ष विश्वकर्माले भन्नुभयो, “स्थानीय तहहरुले आयोजना गरेको आयोजनाभन्दा सवैभन्दा ठूलो आयोजना हो ।” साढे ३ सय घरधुरीलाई पानी खुवाउने ठूलो योजना भएको उहाँले बताउनुभयो ।
खानेपानी अयोजना अन्तिम चरणमा छ । पाइप जडान, इनार, ट्यांकीका संरचना, विद्युत्तिकरण, मेनलाईन जडान सम्पन्न भएको बताउनुभयो । अहिले घरमा पुग्ने पाइपलाईन, मोटर जडान गर्ने तयारी भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । “सम्भव भएसम्म चैतभित्र, भएनभने बैशाख १ गते कोटघरको धारा उद्घाटन गर्ने तयारीमा छौं ।”
सहजकर्ताले संकलन गरेको अभिमत पत्र र नागरिक प्रतिवेदन पत्रमा आएकमा प्रश्न, जिज्ञासा र सुझाव कार्यक्रममा प्रस्तुत गरिउको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले दोस्रो चौमासिकसँग हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । युथ मिडिया डेभलप्मेन्ट सेन्टरको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
