प्युठान । व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आज ऐरावती गाउँपालिका वडा नं २ को सभाहल बरौलामा सम्पन्न भएको छ ।
ऐरावती गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभागको स्वीकृत बार्षिक कार्ययोजना अनुसार यो कार्यक्रम सञ्चालन गरिएको छ ।
सामाजिक सुरक्षा अनलाईन प्रविष्टि तथा बैंकिङ प्रणालीको स्पष्ट जानकारी ,सामाजिक सुरक्षा सम्बन्धी वडा अन्र्तगतका लाभग्राहीहरुलाई विस्तृत जानकारी ,पञ्जीकरण तथा घट्ना दर्ता गर्नुको आवश्यकता,महत्वका बारेमा जानकारी दिने लगायतका उदेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको इकाईका एम.आई.एस. अपरेटर सागर रिजालले बताउनुभयो ।
फागुन २० गते वडा नं ५, २२ गते वडा नं ३, २३ गते वडा नं ६, २५ गते आज वडा नं २ मा कार्यक्रम सम्पन्न भएकाे छ । फागुन ३० गतेसम्म ६ वटै वडामा कार्यक्रम सम्पन्न गरिने उहाँले जानकारी दिनुभयाे । वडाका जनप्रतिनीधि, वडा कर्मचारी र वडा भित्रका समाजसेवी तथा बुद्धिजीविको सहभागिता अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रमको सहजीकरण इकाईका एम.आई.एस. अपरेटर रिजाल, फिल्ड सहायक रुद्धप्रसाद पोख्रेल र हेमन्ता गुरुङ्गले गर्नुभएको छ ।
