प्यूठान । नेपाली कांग्रेस प्यूठानले ‘घर-घर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको छ । गाउँ जानुअघि कांग्रेसले कार्यकर्तालाई कार्यक्रम सम्वन्धी अभिमुखिकरण गर्दै अभियानको उद्घाटन समेत गरेको छ ।
अभियान उदुघाटन कार्यक्रममा सभापति विष्णु गिरी र सभापतिका प्रतिस्पर्धी रहनुभएका शिवराज रिजाल मञ्चमा सँगै देखिनुभएको छ । यसअघि रिजाल पक्षीय नेता कार्यकर्ता निर्वाचनको बेला भएको घटनापछि असन्तुष्टी जनाउँदै आएका थिए । उनीहरुले छुट्टै भेला समेत गरेका थिए । निर्वाचनपछि दुई पक्षले एक-अर्कालाई आरोप लगाउँदै आएका थिए ।
नेपाली कांग्रेस नौबहिनी गाउँपालिकाले कांग्रेस नेता डा. गोविन्दराज पोख्रेललाई पालिका भित्र प्रवेश गर्न नदिने समेत निणर्य गरेको छ ।
नेपाली कांग्रेसले एक महिने गाउँ अभियान शुरुवात गरेको छ । जिल्लाका वडा, टोलमा पुग्ने गरि कार्ययोजना बनाएर लागेको नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
पहिलो १५ दिनभित्र पालिका बैठक, वडा बैठक र पालिका स्तरमा प्रशिक्षण कार्यक्रम राखिएको छ । सभापति गिरीका अनुसार त्यसपछि अभियानको समिक्षा गरेर थप १५ दिनको कार्ययोजना बनाएर गाउँ केन्द्रित हुने कार्यक्रम रहेको छ ।
अहिले नेपाली कांग्रेस प्यूठानभित्र नेताहरुबीच मतभेद नरहेको उहाँले बताउनुभयो । पार्टी निर्वाचनका बेला उत्पन्न परिस्थितीले समस्या पैदा गरेको र हाल उक्त कुरालाई भुलेर सवै नेता कार्यकर्ता स्थानीय तह निर्वाचनमा केन्द्रित भएर अगाडी बढेको उहाँले बताउनुभयो ।