प्यूठान । सरुमारानी गाउँपालिकाको धेरैजसो ठाउँमा अदुवा खेती हुन्छ । राम्रो उत्पादन हुने भएकाले यस क्षेत्रलाई अदुवाको पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । राम्रो उत्पादन र मुल्य पाउने भएपछि धेरै किसान अदुवा खेतीमा जोडिएका छन् ।
ऐरावती बहुउदेश्यीय साना किसान सहकारी संस्थासँग पालिकाका ६५० जना अदुवा खेती गर्ने व्यावसायिक कृषक जोडिएका छन् । उनीहरुले व्यावसायिक अदुवा खेती गरेर आयआर्जन गर्दै आएका छन् ।
तर यस वर्ष अदुवाले राम्रो मुल्य नपाउँदा किसान निराश बनेका छन् । पछिल्लो समय व्यावसायिक रुपमा अदुवा खेतीमा लागेका किसानले यस वर्ष राम्रो मुल्य नपाउँदा निराश बनेका हुन् । अहिले प्रति किलो ३० रुपियाँमा अदुवा विक्री गरेका छन् ।
भारतमा अदुवा निकासी नहुँदा मुल्य नबढेको ऐरावती बहुउदेश्यीय साना किसान सहकारी संस्थाका व्यवस्थापक रेवत खनालले बताउनुभयो । “२/३ वर्ष नियमित निकासी हुन्छ र भाउ राम्रो पाउँछ,” उहाँले भन्नुभयो, “फेरी २/३ वर्ष निकासी हुँदैन र मुल्य घट्छ ।”
यस क्षेत्रमा वार्षिक २ सय टन अदुवा उत्पादन हुँदै आएको छ । यो वर्ष करीव ५० टन अदुवा विक्री भइसकेको सहकारीको तथ्याङ्क छ ।
अहिलेको वर्ष उत्पादन सन्तोषजनक रहेको छ । लागतको हिसावले घाटा नभएपनि राम्रो मुल्य पाउन नसकेको सहकारीका व्यवस्थापक खनालको भनाई छ । अदुवाको मुख्य व्यापार भारतमा हुने भएकाले पनि किसानले समस्या व्यहोर्दै आएका छन् । “गत वर्ष ९० रुपियाँसम्म मुल्य पुगेको थियो,” उहाँले भन्नुभयो,“अहिले ३० रुपियाँमा सहकारीले खरिद गरेको छ ।”