प्यूठान । मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । मल्लरानी गाउँपालिका-३ स्थित भानुभक्त माध्यमिक विद्यालय चुजाठाटीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उठे यस्ता सवाल
कार्यक्रममा गाउँपालिकासँग सम्वन्धित विभिन्न सवाल उठेका छन् । विकास निर्माण र सेवा प्रवाहका विषयमा सरोकारवाला निकायले प्रश्न, जिज्ञासा र सुझाव राखेका हुन् ।
विभिन्न ठाउँमा भएको खानेपानी समस्या, ग्रामीण सडक सुधार तथा दिगो बनाउनुपर्ने, खोप क्लिनिक, गाउँघर क्लिनिक, आमा समुहको बैठकका लागि भवन अभाव, गाउँघरमा गोरेटो बाटो निर्माण तथा सुधार, अनुदान सम्वन्धी जानकारी अभाव लगायतका विषय उठेका थिए ।
कार्यक्रममा उठेका जिज्ञासाको गाउँपालिका अध्यक्ष अमरध्वज राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्णा थापाले जवाफ दिनुभएको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत थापाले पहिलो चौमासिकमा भएका गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख पदम बहादुर थापाले पालिकाको प्रथम चौमासिकमा वित्तिय प्रगति थोरै देखिएपनि त्यो सन्तोषजनक भएको बताउनुभयो । उहाँले अवका दिनमा विकास निर्माणका कार्यलाई तीव्रता दिन पालिका परिवार लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलकाको तर्फबाट राष्ट्रिय जनमोर्चाका गाउँपालिका सचिव केसी, नेकपा एमाले गाउँपालिका सचिव नोमराज पौडेल, नेपाली कांग्रेस गाउँपालिका उपाध्यक्ष हिमाल केसी, नेकपा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष रुकमणी भट्टराईले आ-आफ्नो कुरा राख्नुभएको थियो ।
विरोधका लागि विरोध नगरौं
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले विरोधका लागि विरोध गर्ने काम अनुचित भएको बताउनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले गाउँपालिकाले गरेका कमिकमजोरी सच्याउन तयार रहेको भन्दै विरोधका लागि विरोध गर्ने शैलीले विकास निर्माणलाई पछि पार्ने भन्दै त्यस्तो कार्य नगर्न आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले समग्र पालिकाको विकासका लागि निरन्तर रुपमा काम गरिरहेको उहाँको भनाई छ । सीमित स्रोत साधनका कारण सवै काम पुरा नभएपनि त्यस दिशातर्फ अघि बढेको उहाँले दावी गर्नुभयो ।
कार्यक्रमको सहजीकरण युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालले गरेको थियो ।
