प्यूठान । स्थानीय श्रोत र पुँजिको परिचालन गरि उत्पादनमा जोड दिनुपर्ने भन्दै प्यूठानका उद्योगी व्यवसायीहरुले उद्योगमैत्री वातावरण निर्माण गर्न जोड दिएका छन् । प्यूठान उद्योग बाणिज्य संघको २६ औं साधारण सभाले उद्योगमैत्री वातावरण निर्माण गर्न संघीय, प्रदेश र स्थानीय सरकारसँग माग गरेको हो ।
आर्थिक समृद्धिका लागि बस्तुको व्यापार मात्र नभई उत्पादनमा समेत बढवा दिनुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन् । प्यूठान जिल्लाको पर्यटन प्रवद्र्धनका लागि छिमेकी जिल्लाका पर्यटकीय गन्तव्यहरुलाई समेटेर पर्यटन सर्किटका रुपमा विकास गर्नुपर्ने सहभागीहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सूर्य थापाले गुल्मीको रिडि, रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको मल्लरानी, स्वर्गद्धारी हुँदै लुम्बिनीलाई पर्यटन सर्किटको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सडक सुरक्षा तथा विस्तार, पक्की तथा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाईएको भन्दै उहाँले जिल्लाको पहिचान बढाउने र उद्यमशिलताको विकासमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
जिल्लामा उद्योग संचालनका लागि लगानीकर्ताहरुको अभाव नभएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लगानीमैत्री वातावरण बनाउन सवैले भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । प्यूठानको पहिचान र यहाँ उपलब्ध कच्चा पदार्थको उपयोग गरि उद्योग संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आर्थिक चलायमान नहुँदा उद्योगी व्यवसायीहरुले पीडा व्यहोर्नु परेको लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले चिन्ता प्रकट गर्नुभयो ।
साधारण सभाको उद्घाटन सत्रमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, ससनिया उद्योग बाणिज्य संघका पूर्ण बहादुर बुढाथोकी, प्रमख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, संघका पूर्व अध्यक्ष इमानसिंह भारती, प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपती, पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजाल, बस्तुगत संघको तर्फबाट नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्यूठानका अध्यक्ष रमेश गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सभामा महासचिव सन्देश आचार्यले प्रगति तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष झवेन्द्र शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा संघ गठनको लागि भएको प्रारम्भि भेलाका अध्यक्ष तुल्सी प्रसाद उपाध्ययलाई जिवनप्रयन्त सम्मान गरिएको थियो । त्यस्तै झिमरुक मत्यस्यपालन तथा एकीकृत कृषि फर्म खैरा प्यूठानलाई उत्कृष्ट व्यवसायको रुपमा सम्मान गरिएको थियो । नौ वटा बजार क्षेत्र मध्य व्यवस्थित सचिवालय मार्फत उत्कृष्ट कार्य सम्पादन गर्ने नौबहिनी बजार क्षेत्रलाई सम्मान गरिएको थियो ।
साधारण सभाको अवसरमा नयाँ आजीवन सदस्य र एशोसियट सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
संघका अध्यक्ष पशुपति नारायण नकर्मीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलको स्वागत मन्तब्यमा भएको कार्यक्रमको संचालन महासचिव सन्देश आचार्यले गर्नु भएको थियो ।