> राष्ट्रिय > प्यूठानमा ग र घ वर्गका अपाङ्गतालाई पनि भत्ता


प्यूठानमा ग र घ वर्गका अपाङ्गतालाई पनि भत्ता

प्युठान, ७ साउन । सङ्घीय सरकारले क र ख वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोमा जिल्लाका स्थानीय तहले त्यस बाहेकका ग र घ वर्गलाई समेत उपलब्ध गराउन थालेको छ ।

केन्द्र सरकारले क वर्गलाई तीन हजार र ख वर्गलाई १६ सय रुपियाँ मासिक भत्ता उपलब्ध गराउँदै आएको छ ।

 

त्यसबाहेक छुटेका अपाङ्गता भएका व्यक्तिलाई स्थानीय सरकारले नयाँ बजेट तथा कार्यक्रममा सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छन् । प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले यस वर्ष घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरि बजेट ल्याएको बताउनुभयो । ‘ग वर्गलाई पाँच सयबाट बढाएर एक हजार बनाएका छौं,’ उहाँले भन्नुभयो,‘यो वर्ष घ वर्गलाई पनि मासिक पाँच सय रुपियाँ दिने गरि बजेट ल्याएका छौं ।’

 

यसअघि गौमुखी गाउँपालिकाले दुई वर्ष अघिदेखि ग वर्गलाई मासिक पाँच सय रुपियाँ उपलब्ध गराउँदै आएको छ । यो आर्थिक वर्षदेखि सरुमारानी गाउँपालिकाले मासिक पाँच सय रुपियाँ दिने निणर्य गरेको छ ।

 

मल्लरानी गाउँपालिका र ऐरावती गाउँपालिकाले ग वर्गलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निणर्य गरेको छ । तर कति रकम दिने भन्ने निणर्य नगरिसकेको राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीले बताउनुभयो ।

 

स्वर्गद्वारी नगरपालिका, झिमरुक, माण्डवी र नौबहिनी गाउँपालिकाले भने ग र घ वर्गलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने विषयमा निणर्य गरेका छैनन् । कतिपय गाउँपालिकाले अपाङ्गता भएका बालबालिकाको निःशुल्क शिक्षाको लागि समेत बजेट विनियोजन गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *