प्यूठान, ३ असार । निर्माण सम्पन्न हुन लागेको पक्की पुल झिमरुक नदीकाे बाढीले भत्काएको छ ।
प्यूठानको ऐरावती गाउँपालिका वडा नम्वर १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्वर ७ जोड्ने पक्की पुल बुधबार बेलुका ५ बजेतिर झिमरुक नदीको बाढीले भत्काएको स्थानीय युवराज अाचार्यले जानकारी दिनुभयाे ।

झिमरुक नदीको माझीदमारमा ७ करोड १३ लाख रुपियाँको लागतमा पुल निर्माण भइरहेको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार अमर कन्ट्रक्सन प्रा.ली. काठमाण्डौले निर्माणको जिम्मा पाएको थियो । ०७३ पुसमो सम्झौता भइ यहि असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।
७० मिटर लम्वाइ रहेको पुलको ३५ मिटर स्लाव यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको सल्याव ढलान ४ दिन अघि सम्पन्न भएको इन्जिनियर केसीले बताउनुभयो । ‘लठ्ठा प्रविधिको पुल भएकाले ढलान सम्पन्न भएको १४ दिनमा लठ्ठा राखेर तन्काउने चलन हुन्छ,’ इन्जिनियर केसीले भन्नुभयो, ‘लठ्ठा राख्न तयार भइनसकेको अवस्थामा थियो ।’ बाढीले फर्मा बगाउँदा पुल भत्किएको उहाँको भनाई छ ।
प्राविधिक केसीका अनुसार करीव डेढ करोड रुपियाँ बराबरको क्षति भएको छ । ‘भदौसम्ममा पुल सञ्चालन हुने अवस्थामा थियो,’ उहाँले भन्नुभयो, ‘अव त्यो पछाडी धकेलियो ।’
