> स्थानीय सरकार > गाऊँपालिकाको गाडी एम्बुलेन्स बनाएका छौं : अध्यक्ष विश्वकर्मा


गाऊँपालिकाको गाडी एम्बुलेन्स बनाएका छौं : अध्यक्ष विश्वकर्मा

सरुमारानी गाऊँपालिका कृषि र पशुपालनका लागि अब्बल मानिन्छ । जिल्लाको प्रमुख सडक भालुवाङ-प्युठानको प्रवेशद्धार नै सरुमारानी गाउँपालिका हो । यस गाउँपालिकामा व्यावसायिक रुपमा कृषि र पशुपालनको काम हुँदै आएका छन् । स्थानीय सरकार बनेपछि यसको विकासमा थप टेवा पुगेको छ । तर अहिले कोरोना सङ्क्रमणका कारण सरुमारानी गाऊँपालिकाको विकास निर्माणका काम प्रभावित भएका छन् । सङ्क्रमण फैलिन नदिन र रोकथामका लागि पालिकाले प्रयास गरिरहेकै छ । यसै सन्र्दभमा कोरोना महामारी नियन्त्रण र विकास निर्माणका विषयमा गाऊँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मासँग गरिएको कुराकानीको सार संक्षेप :

१) कोरोना महामारीमा पालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निणर्य गर्नुभएछ ? किन ?
यसमा दुईटा कुरा रहे । स्वास्थ्य संस्थाको अनुपातमा एम्बुलेन्सको सङ्ख्या नरहेको । दुई वटा मात्र एम्बुलेन्स भएकोमा एक जना चालक समेत कोरोना सङ्क्रमित भएका छन् । यस्तो खालको समस्या छ भने अर्कोतर्फ बाहिरबाट गाडी व्यवस्थापन गरेर विरामी पठाउने कुरा चुनौतीको रुपमा देखिदै आएकोले गाऊँपालिकाको गाडी जनताको गाडी जनताकै काममा प्रयोग हुनपर्छ । जनताको जीवनभन्दा ठूलो केहि होइन भन्ने हिसाबले यो निणर्य हामीले गर्‍यौं । म आफ्नो नीजि मोटरसाइकल प्रयोग गरेर हिड्ने गरेको छु ।
विरामीलाई गाऊँपालिकाको आइसोलेसन, जिल्लाको आइसोलेसनसम्म लैजानुपर्ने, अन्य विरामीले पनि त्यहि एम्बुलेन्स प्रयोग गर्नुपर्ने भएकोले यसलाई बैकल्पिक उपायको रुपमा गाऊँपालिकाको गाडी प्रयोग गर्ने निणर्य गरिएको हो ।
हामी यसमा शुल्क लिदैनौं । गाउँपालिकाले जिल्लाभित्र गाऊँपालिकाको आइसोलेसन, जिल्लाको आइसोलेसनमा लैजादा र ल्याउदा हुने एम्बुलेन्स खर्च निःशुल्क गर्ने निणर्य गरेका छौं र यसको पनि शुल्क लिने प्रश्नै भएन ।

 

२) अहिले कोरोनोको अवस्था पालिकामा के छ ? रोकथामका लागि के कस्तो प्रयास गरेको छ ?
हामीकहाँ अहिलेसम्म २ सय ३ जना संक्रमित सङ्ख्या देखिएको छ । यसमा मृत्यु भएको सङख्या पनि जोडिएको छ । यसमध्येमा करीव आधाआधीले आइसोलेसन अवधि पुरा गरिसक्नुभएको छ । अझ भनौ खतरामुक्त भइसक्नुभएको छ ।
समुदाय स्तरमा परीक्षणलाई निरन्तरता दिइराखेका छौं । हामीकहाँ तीन वटा स्वास्थ्य संस्थामा ल्याव सेवा छ । त्यो बाहेक ल्याव सेवा नभएका वडामा समुदाय स्तरमै ल्याव टेक्निसियन सहित पुगेर परीक्षण गर्दै आएका छौं । वडा नं. २, ४ र ६ मा ल्याव सेवा छैन ।
परीक्षणका लागि आवश्यक किट बीचमा उपलब्ध नभएकाले दुई सय किट पालिकाले खरिद गरेर समेत परीक्षण गर्‍यौं । हामीले १५ बेडको आइसोलेसन तयार गरेर सञ्चालनमा ल्याएका छौं । त्यसका लागि दुई जना स्टाफ नर्स हामीले नियुक्ती गरेका छौं । स्वास्थ्य संस्थामा रिक्त रहेका दरबन्दी परिपुर्तिका लागि प्रक्रिया अघि बढाएका छौं ।
अहिले जल्दोबल्दो समस्याको रुपमा रहेको अक्सिजन (१८ सिलिण्डर) व्यवस्थापन गरेका छौं । केहि विरामी उपचारपछि निको भएर घर फर्किएका छन् । दुई जना विरामी उपचाररत हुनुहुन्छ । जिल्ला आइसोलेसन र जिल्ला बाहिर पनि हामीले उपचारका लागि पठाएका छौं ।
एम्बुलेन्स चालकलाई जिल्ला भित्र प्रति ट्रिप पाँच सय रुपियाँ र जिल्ला बाहिर एक हजार रुपियाँ प्रोत्साहन भत्ता उपलब्ध गर्ने निणर्य गरेका छौं । र स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निणर्य गरेका छौं ।

 

३) अघिल्लो वर्ष पनि कोरोना सङक्रमणको महामारी रह्यो अहिले पनि कोरोना महामारी कायमै छ । कोरोनाले पालिकाको विकास निर्माणमा कतिको असर पारेको छ ?
पक्कै पनि गतवर्ष पनि कोरोनाले प्रभावित पार्‍यो । अहिले जस्तो त्रासदीपूणर् अवस्था थिएन । व्यापक रुपमामा क्वारेन्टिन, आइसोलेसन सञ्चालन गरेका थियौं । त्यसकारण समुदाय स्तरमा कोरोना फैलनबाट रोकेका थियौं । बाहिर डर त्रासको अवस्था कम थियो भने अहिले होम क्वारेन्टिन, होम आइसोलेसनमा बस्ने व्यवस्था गर्दा समुदाय स्तरमै कोरोना फैलियो ।
यो पटक विकास निर्माणको काम गर्दै गरेका कामदारमा पनि परीक्षण गर्‍यौं । कतिपयलाई पोजेटिभ देखियो त्यसकारण काम स्थगित गर्नु परिराछ । गएको वर्षभन्दा अहिले समुदायमा त्रास बढी छ ।
यसले विकास निर्माणका काम पनि प्रभावित भएका छन् । साना योजनाहरु कोराना अघि नै सम्पन्न पनि गरिसकेका छौं । ठूला योजना सावधानीपूर्वक सञ्चालन गर्न खोजिराखेका छौं । कतिपय बीचमा सञ्चालन गर्ने, स्थगित गर्ने अवस्था पनि देखिएको छ । त्यसले गर्दा विकास निर्माणमा स्वभाविक रुपमा प्रभाव पर्छ ।
गत वर्ष हामीले करीव ९० प्रतिशत खर्च गर्न सफल भएका थियौं । अहिले चाहिँ यसै भन्न सकिने अवस्था छैन । इस्टिमेटको दररेट भन्दा अहिले बजार दररेट बढेकाले उपभोक्ताले सामान खरीद गर्न नसक्ने अवस्था देखिएको छ । कामदार सङ्क्रमित हुँदा अर्को चुनौती देखिएको छ । कतिपय काम रोकिएका छन्, कतिपय हामीले पुनः सञ्चालन गरेका छौं । त्यसैले स्वभाविक रुपमा गएको वर्षभन्दा यो वर्ष विकास निर्माणका काम प्रभावित हुने खतरा उत्पन्न भएको छ ।

 

४) पालिकाले खानेपानीको महत्वकांक्षी योजनाहरु अगाडी बढाएको थियो । त्यसको अहिले प्रगति कहाँ पुग्यो ?
गाउँपालिकाले पहिलो निणर्यको रुपमा खानेपानी सम्बन्धी योजनालाई प्राथमिकतामा राख्ने भनेर गरेको थियो । त्यो अनुसार एक घर एक धाराको नीति अनुसार हामी अगाडी बढेका छौं । विगत वर्षहरुदेखि नै घरघरमा धारा जडानको काम गर्दै आएका छौं । एकै पटक हामी ३५२ घरधुरीमा हङ्सपुर बृहत खानेपानी आयोजना मार्फत धारा जडान गर्ने, अर्को २६४ घर(ददेरी)मा पानी पुर्‍याउने योजनामा लागेका छौं र ददेरीको २६४ घरमा एक घर एक धारा बनिसकेको छ । हङ्सपुर खानेपानी योजनाको काम भइरहेको छ । यसैवर्ष पानी खुवाउने सङ्कल्प गरेका हौं तर प्राविधिक समस्या, सामाग्री समस्या, जनशक्ति समस्या र कोभिडले गर्दा समस्या देखिएको छ ।
वडा नम्वर १ मा मात्र ६ दर्जन इनार मात्र खनेका छौं । त्यसबाट एक घरदेखि ४/५ घरलाई पानी खुवाउने गरि योजना बनाइएको छ । स्थानीय तह बन्नुभन्दा पहिलेदेखि खानेपानी डिभिजन कार्यालयले सञ्चालन गरको सरुमारानी वडा नम्वर ६ को खानेपानी आयोजनामा पालिकाले समेत थप लगानी गरेर केहि घरमा पानी पुर्‍याएका छौं । खानेपानीको क्षेत्रमा हामी सन्तोषजनक अवस्थामा छौं ।

 

५) कृषि र पशुपालनको पकेट क्षेत्र मानिने सरुमारानीमा तपाईहरुले के कस्ता काम गर्नुभएको छ र उपलब्धी के के भएका छन् ?
किसानसँग गाउँसरकार कार्यक्रम मार्फत हामीले यहाँको विशेष गरेर कृषि र पशुपालनको सम्भावनाहरुलाई अधिकतम रुपमा कसरी अगाडी बढाउने कसरी जनताको समृद्धिसँग जोड्ने भन्ने हिसावले सञ्चालन गर्न खोजेका हौं । ९० प्रतिशत भन्दा बढी कृषिमा नै आश्रित भएको अवस्थाको तुलनामा हामीले किसानलाई सहयोग गर्ने बजेट अत्यन्त न्यून हुनु समस्याको रुपमा देखा परेको छ । तैपनि हामीले जे जति बजेट विनियोजन गरेका छौं त्यसबाट अधिकतम काम गर्ने कोशिस गरेका छौं ।
किसानहरुलाई व्यावसायिक बनाउने, संस्थागत रुपमा पेशा व्यवसाय दर्ता गरेर सञ्चाल गर्ने तर्फ अगाडी बढाउन काम गरिरहेका छौं । यो बीचमा ३२ वटा पकेट गाउँपालिकामा दर्ता भएको छ । एउटा पकेट कम्तीमा २ सय रोपनी क्षेत्रफल हुनुपर्छ । पकेटलाई प्रत्येक वर्ष मल, वीऊ लगायतको सहयोग सामुहिक रुपमा दिने संस्थागत परिपाटी शुरु गरेका छौं ।
गाउँमा सामान्यतया पहुँचवालाले अनुदान प्राप्त गर्ने तर छेवैमा रहेको अर्को मिहेनती किसानले अनुदान प्राप्त नगर्ने अवस्था हुन्छ । पकेट मार्फत हामीले किसानहरुलाई सामुहिक रुपमा अनुदान दिने गरेका छौं । जसले पकेट क्षेत्रका सवै किसानले अनुदान प्राप्त गर्ने अवस्था हुन्छ । यो वर्ष हामीले कार्यक्रमलाई निरन्तरता दिएका छौं । किसानहरुलाई फर्म भर्नपर्ने समस्या महसुस भएको छ । प्रदेशका पनि यस प्रकारका कार्यक्रमहरु छन् । गाउँपालिकाको यो वर्ष पौने एक करोडको कार्यक्रम छ ।
किसानसँग गाउँसरकार, पकेट मार्फत अनुदान सहयोग दिने नीति बनाएका छौं, किसानहरुलाई दर्ता गर्न प्रेरित गरेका छौं । व्यावसायिक बनाउनका लागि प्रेरित गरेका छौं । व्यावसायिक किसानलाई सहयोग गर्ने नीति बनाएका छौं । यो ढंगले हामीले शुरुवात गर्न खोजेका छौं । यो प्रयाप्त छ भन्ने अवस्था चाहि छैन । तर हाम्रो कार्यकाल पछि आउने जनप्रतिनिधिले यसलाई गाईडलाईनको रुपमा मानेर केहि संसोधन परिमार्जन गरेर अगाडी बढाउन सक्यौ भने निश्चित पनि किसानहरु लाभान्वित हुने कुरामा हामीले शुरुवात गरेका छौं ।

 

६) पालिकाको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन कस्तो छ ?
हाम्रो पालिकामा ६ वटा वडा छ । त्यसमध्ये चार वटा वडा कार्यालय आफ्नै भवनमा सञ्चालन गरेका छौं । बाँकी दुई वटा वडा कार्यालयमा साउन पछाडी भवन निर्माण कार्य सक्छौं । त्यसको लागि प्रदेश सरकारसँग समपुरक योजना छनौट गरेर पठाएका छौं ।
गाउँपालिकाको दुई तलाको भवन निर्माण भइसकेको छ । हामी अहिले भाडामा बसिरहेका छौं । गाउँपालिकाको भवनमा सर्न खोजिरहेका छौं । डेकोरेशनको काम अहिले चलिरहेको छ । असारदेखि हामी नयाँ भवनबाट सेवा दिन्छौं । त्यसमा एक तला थप्नुपर्ने आवश्यकता छ । आगामी आर्थिक वर्षमा एक तला थप्छौं ।
हामीसँग दुई वटा हल निर्माण भएका छन् । प्रदेश सरकारको सहयोगमा करीव ५ सय जना अट्ने सभाहल छ । जसलाई हामीले अहिले अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गरेका छौं भने ३ सय मान्छे अट्ने हल एउटा पार्कमा निर्माण गरेका छौं ।
स्वास्थ्य तिरको सङ्रचनाको कुरा गर्नुहुन्छ भने हामीले वडा नम्वर २ र ६ मा भवनहरु निर्माण भइरहेका छन् । वडा नम्वर ४ मा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । विद्यालयका भवनपनि निर्माण भइरहेका छन् ।
यसरी हाम्रै कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन, वडा भवन, स्वास्थ्य संस्थाका भवन, विद्यालयका भवन बन्नेछन् ।
हाम्रो पालिकामा जनशक्तिको व्यवस्थापन ठिकै छ । स्वास्थ्य क्षेत्रमा रिक्त रहेको पदपुर्ति गर्न थालेका छौं । शिक्षा क्षेत्रमा हामीले ठूलो काम गरेका छौं भन्छौं । हामी पहिलो गाउँपालिका हो जसले पहिलो पटकमै ५३ जना शिक्षक सामुदायिक विद्यालयमा नियुक्त गरेर पठाएका छौं । अहिले त्यो संख्या ६३ पुगेको छ ।
वडाका कामहरुमा चुनौती छ । वडाको दरवन्दी मिलेको छैन । एउटा वडा सचिव, एउटा प्राविधिक, एउटा कार्यालय सहयोगी । यस्तो किसिमको दरवन्दीले गर्दा काम गर्न वडामा समस्या छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार ओएनएम बनाउदैछौं । त्यस अनुरुप पालिकाको सङ्रचना बन्नेछ ।

 

७) स्थानीय सरकार सञ्चालनका क्रममा यहाँले भोगेका समस्या, चुनौती के हुन ?
स्थानीय तहभन्दा अघि गाविस हुँदा न्यून बजेट आउने, जनप्रतिनिधिमुलक संस्था नभएको, वडा सचिवको भरमा गाविस चल्ने भएकोले जनताका विकास निर्माणका माग चाहना थुप्रिएर रहेको थियो । सङ्घीयतामा गइसकेपछि गाउँगाउँमा सिंहदरबार आयो भन्ने प्रचार पनि भयो । त्यसले गर्दाखेरी जनताका माग, चाहना र आवश्यकता स्वभाविक रुपमा चुलिएर रहेको अवस्था थियो ।
त्यसलाई सम्वोधन गर्नका लागि सङ्घ, प्रदेशले हामीलाई वित्तिय हस्तान्तरण त्यहि प्रकारले गर्नुपर्दथ्यो । अर्को स्थानीय तहसँग आन्तरीक स्रोत हुनुपर्दथ्यो । दुईटै समस्या भयो । जसले गर्दा जनताको चाहना परिपूर्ति गर्ने साधनस्रोतको अभाव भयो । जसले गर्दा अन्तरविरोध पैदा भयो । सवैभन्दा बढी चुनौती हामीले त्यो भोग्यौं ।
उदाहरणको लागि जनताले कालोपत्रे सडक चाहेका छन तर हामी त्यो गर्न सक्दैनौं । जनताले ग्राबेल सडक चाहेका छन तर हामी सडक खन्न मात्र सक्छौ त्यसको स्तरउन्नती गर्न सक्दैनौं ।
शुरुशुरुमा कर्मचारी अभावको सामना गर्नुपर्यो । छिटो छरितो गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा अर्को चुनौती रह्यो । सङ्घ, प्रदेशसँग नबाझिने गरि कानुन बनाउनुपर्ने भएकाले कानुन निर्माणको चुनौती पनि रह्यो । नयाँ संरचनामा जनतालाई अभ्यस्त बनाउन चुनौती रह्यो ।
दलित, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक, अपाङ्गता भएको क्षेत्र, जेष्ठ नागरिक, बालबालिका लगायत विविध क्षेत्रहरुलाई शसक्तिकरण गर्नुपर्ने आवश्यक थियो त्यो कुरालाई अगाडी बढाउन प्रयाप्त साधान स्रोत, जनशक्ति, विज्ञता नभएको कारणले त्यो क्षेत्रलाई जसरी शसक्त गर्नुपर्ने हो त्यो गर्न नसक्ने हाम्रो लगायत सवै स्थानीय तहका चुनौती होलान जस्तो म महशुस गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *