Bannerआर्थिक/बिकास

अवकाश प्राप्त पूर्व सैनिकको गार्मेन्ट उद्योग, १५ जनालाई रोजगारी

प्यूठान । नेपाली सेनाबाट अवकाशपछि प्यूठानका एक पूर्व सैनिकले गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका छन् । उद्योगमा १५ जनाले रोजगार पाएका छन् भने अहिले उनले वार्षिक लाखौं रुपैंया आम्दानी गर्दै आएका छन् ।

प्यूठान नगरपालिका–१० मरन्ठानाका विष्णु गिरीले राप्ती गण्डकी युनिफर्म उद्योग नाम दिएर गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएको छ । नेपाली सेनाबाट अवकाश प्राप्त गिरीले २०६९ साल मंसिरदेखि उद्योगको रुपमा फर्म सञ्चालन गर्दै आउनुभएको हो ।

उद्योगमा महिला तथा पुरुषका विभिन्न प्रकारका कपडा उत्पादन हुँदै आएका छन् । विद्यालय ड्रेसदेखि कोट–पाइन्ट, टाई, बेल्ट र खेलाडी पोशाक यहाँ तयार हुन्छ । ‘सेनामा हुँदा कमाएको पैसा, अवकाशपछि पाएको सुविधा र बैंकबाट ऋण लिएर उद्योग सुरु गरेको हुँ’, उहाँले भन्नुभयो, ‘करिव २५ लाख रुपैंयाँको लगानीमा उद्योग शुरु गरेको हुँ ।’  आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले यो काम थालेको उहाँले बताउनुभयो ।

आफ्नै घरमा उद्योग सञ्चालन गरिएकाले घरभाडा खर्च नलाग्ने गिरी बताउँनुहुन्छ । ‘सबै खर्च कटाएर वार्षिक वार्षिक करिव ८ लाख रुपैंयाँ आम्दानी हुन्छ’, उहाँले भन्नुभयो । करिब २५ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यो उद्योग प्यूठानमै ठूलो मात्रामा उत्पादन गर्ने क्षमताको गार्मेन्ट उद्योग भएको दाबी गरिएको छ । नेपाली सेनाको सुबेदार पदबाट गिरी २०६९ साल असार १ गते अवकाश हुनुभएको हो ।

अन्नपूर्ण पोष्ट अनलाइनबाट

Related Articles

Back to top button