प्यूठान, ४ वैशाख । मल्लरानी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ करोड २३ लाख ८ हजार १७ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
पहिलो चौमासिकमा १ करोड ५३ लाख १९ हजार २ सय ३८ रुपियाँ र दोस्रो चौमासिकमा १ करोड ६९ लाख ८८ हजार ७ सय ७९ रुपियाँ रकम सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाले संघीय सरकारको परिपत्र अनुसार सवै सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत वितरण गर्ने गरेको छ । गाउँपालिकाभित्रका सवै वडाका लागि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।
सामाजिक सुरक्ष भत्ता लिनेको संख्या २२ सय १७ जना रहेका छन् । ७० वर्ष माथीका जेष्ठ नागरिक ७२६ जना, दलित जेष्ठ नागरिक २४९ जना, एकल महिला २३७ जना, विधवा महिला ३४४ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।
त्यसैगरि क वर्गको अपाङ्गता भएका २६ जना, ख वर्गका अपाङ्गता भएका ९९ जना र दलित बालबालिका ५३६ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् ।
