प्यूठान, २४ फागुन । खेलकुद क्षेत्रको विकासका लागि पालिकाकाले जोड दिएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो ।
आइतवार मार्सल आर्ट हाप्किडो संघ जिल्ला शाखा प्यूठानको आयोजनामा सञ्चालन हुन लागेको मार्सल आर्ट हाप्किडो तालिमको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकासका लागि प्रयाप्त बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो । स्वास्थ्य रहन पनि खेलकुद आवश्यक भएकाले पुर्वाधार विकासका लागि आवश्यक योजना अघि सारेको उहाँको भनाई थियो ।
८० प्रतिशत कार्यकाल सकिदासम्म खेलकुद क्षेत्रमा उल्लेखनिय कार्य गरेको अध्यक्ष रोकाको भनाई छ । हप्किडो खेलले देशको स्वाभिमान वढाउनेदेखि लिएर असल तथा सक्षम नागरिक हुनलाई सहयोग गर्ने भएकोले विद्यालय स्तरमा तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘पहिलो चरणमा एउटा विद्यालयबाट हप्किडोको सुरुवात गरेका छौँ ।’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा पालिकाका सबै विद्यालयमा सञ्चालन गर्ने लक्ष्यका साथ वढेका छौँ ।’ हप्किडोसँगै पढाईलाई पनि अगाडि वढाउन उहाँले सुझाउनुभयो ।
देशको स्वाभिमानका लागि, आत्मरक्षा र स्वस्थ रहनका लागि पनि हप्किडो खेल आवश्यक भएकाले सवै विद्यार्थी अनुशासित पुर्वक तालिम लिन उहाँले आग्रह गर्नुभयो । विकृति तथा कुलतमा टाढा रहदै असल बाटोतर्फ हिड्न खेलकुदले धेरै मद्दत गर्ने भएकाले सवै खेलकुदमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।
माण्डवी गाउँपालिकाको सहयोगमा मार्सल आर्ट हाप्किडो संघ जिल्ला शाखा प्यूठानले माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा मार्सल आर्ट हाप्किडो तालिम शुरु गरेको छ ।
