प्यूठान । जिल्लाका ९ वटा स्थानीय तहमा मिश्रीत नतिजा आएको छ । पालिकाभर फरक-फरक राजनीतिक दलहरुबीच चुनावी तालमेल र गठबन्धन भएपनि मिश्रीत नतिजा आएको छ ।
नेकपा एमालेले स्वर्गद्धारी नगरपालिका र माण्डवी गाउँपालिकाको नेतृत्व गुमाएको छ । दुवै पालिकामा एमाले बाहेक दलहरुबीच चुनावी गठबन्धन भएको थियो । एमाले एक्लै चुनाव लडेको थियो ।
नेपाली कांग्रेसले नौबहिनी गाउँपालिको नेतृत्व गुमाएको छ । जहाँ कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । एमाले एक्लैले नेतृत्व जितेको हो ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले झिमरुक गाउँपालिकाको नेतृत्व गुमाएको छ । जुन पालिका राष्ट्रिय जनमोर्चाको पकड पालिका थियो । झिमरुकमा जनमोर्चा र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । नेकपा एमाले र माओवादी केन्द्रले अलिखित चुनावी तालमेल गरेका थिए ।
नेपाली कांग्रेसले स्वर्गद्धारी नगरपालिका, गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिकामा नेतृत्व पाएको छ । प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, मल्ल्रानी गाउँपालिका उपप्रमुख/उपाध्यक्ष जितेको छ ।
नेकपा एमालेले सरुमारानी र नौबहिनीमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ ।
नेकपा माओवादीले प्यूठान नगरपालिका र माण्डवी गाउँपालिकामा नेतृत्व पाएको छ । गौमुखी गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
राष्ट्रिय जनमोर्चाले मल्लरानी गाउँपालिका अध्यक्षको नेतृत्व पाएको छ । स्वर्गद्धारी नगरपालिका र ऐरावती गाउँपालिकामा उपप्रमुख/उपाध्यक्ष जितेको छ ।






