> समाज > झिमरुकमा राहत वितरण थालियो


झिमरुकमा राहत वितरण थालियो

बासुदेब गिरी
प्यूठान , २९ चैत ।
कोरोना संक्रमणबाट बच्नका लागि गरिएको लक डाउनले समस्यामा परेका परिवारलाई झिमरुक गाउँपालिकाले राहत दिन शुरु गरेको छ । वडाहरुबाट विवरण संकलन गरेपछि पालिकाले वडा स्तरबाटै राहत वितरण थालेको हो ।

पालिकाको सात नम्वर वडाले २ सय १४ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको वडा सचिव प्रमिला शर्माले जानकारी दिनुभयो । पालिकाको मापदण्ड अनुसार २ जनासम्म सदस्य संख्या रहेको परिवारलाई १५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको परिवारलाई ३० केजीको दरले चामल उपलब्ध गराईएको छ ।

वडाले मापदण्ड भित्र परेका परिवारलाई राहत सामाग्री दिएको वडा अध्यक्ष गोपाल गिरीले बताउनुभयो । चामल संगै २ जना सदस्य भएको परिवारलाई १ लिटर तेल, डेढ केजी दाल, १ केजी नुन, सावुन दिइएको छ । भने २ भन्दा बढि सदस्य भएको परिवारलाई दाल ३ केजी, नुन २ केजी, तेल २ लिटर, अण्डा प्रति परिवार ६ वटा, सावुन वितरण गरिएको वडाअध्यक्षले जानकारी दिनुभयो । वडामा छनोट भएका राहत पाउन बाँकी ८ घरधुरीलाई भोलि राहत वितरण गर्ने वडाले जनाएको छ ।

खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत विपन्न, श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ अनुसार वितरण गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष तिलक जिसीले बताउनुभयो । एकद्वार प्रणाली अन्तर्गत प्याकेजमा राहत वितरण गर्ने कार्यविधि अनुसार पहिलो चरणको राहत कार्यक्रम वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!