> राजनीति > पूर्व प्रधानमन्त्री भट्टराईको प्रश्न : प्यूठानको विकास किन पछि पर्यो ?


पूर्व प्रधानमन्त्री भट्टराईको प्रश्न : प्यूठानको विकास किन पछि पर्यो ?

प्युठान, १९ माघ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्यूठान विकासको हिसावले पछि परेको बताउनुभएको छ । सोमबार प्यूठान आउनुभएका पूर्व प्रधानमन्त्री भट्टराईले जति विकास हुनुपर्ने हो त्यो अनुसार प्यूठानको विकास हुन नसकेको भन्दै प्रश्न गर्नुभयो, प्यूठानको विकास किन पछि पर्यो ?

प्यूठानमा सोमबार आयोजित नेपालको समृद्धिको मार्गचित्र र स्थानीय सरकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले पश्चिम पहाडी मुलुकहरुमध्ये प्यूठानको झिमरुक फाँट जस्तो समथर र खेतीयोग्य जमिन अरु जिल्लामा नभएको भन्दै त्यसको सदुपयोग गर्न सुझाव दिनुभयो ।

राज्यले भू उपयोग नीति, भूमि सुधार ऐन, वैज्ञानिक भूमि व्यवस्थापनका काम गर्न नसक्दा समथर जग्गामा घर बन्दै गएको उहाँको भनाई छ । त्यसका लागि आफ्नो नेतृत्वमा ती नीति, नियम बनाएपनि अझै पारित हुन नसककेको उहाँको भनाई छ ।

भालुवाङ प्यूठान मोटरबाटोको प्रसंग जोड्दै उहाँले सडक स्तरोन्नती हुन नसकेको अवस्थामा सरकारले रेल र पानी जहाजको सपना देखाएको टिप्पणी गर्नुभयो ।

विकास र समृद्धिको नारा थेगो मात्र भयो : पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा बिकास र समृद्धिको नारा थेगो मात्र भएको टिप्पणी गर्नुभएको छ । उहाँले मुलुकमा बिकास र समृद्धिको लागि धेरै पहल भएपनि त्यो अनुरुप बिकासको गतिविधि अझै अघि बढ्न नसकेको बताउनुभएको हो ।

दुई तिहाईको सरकारले समेत बिकासको काम अघि बढाउन नसकेको भन्दै किन मुलुकको बिकास हुन सकेन ? भनेर प्रश्न गर्ने बेला भएको बताउनुभयो । उहाँका अनुसार राजनीतिक नेतृत्वले नै बिकासलाई अघि बढाउने बिश्वको इतिहासको चर्चा गर्दै राजनितीक क्रान्ति पूरा हुन बाकी रहेकोले विकासको दिशामा मुलुक अघि बढ्न नसकेकोको बताउनुभयो ।

राजनीतिक क्रान्ति पूरा नभएसम्म मुलुकको आर्थिक बिकास नहुने भन्दै उहाँले नेपालमा पनि राजनीतिक क्रान्ति पुरा नभएको उल्लेख गर्नुभयो । जनता समाजबादी पार्टीले आयोजना गरेको कार्यक्रममा भट्टराईले जनतालाई अधिकार सम्पन्न नबनाई मुलुकले बिकासको गति लिन नसक्ने धारणा राख्नुभयो । जुन देशमा पनि विकासले गति लिएको छ त्यहा राजनीतिक रुपमा जनता अधिकार सम्पन्न छन्, उहाँले भन्नुभयो, जनता अधिकारसम्पन्न नभएसम्म देश विकास हुन सक्दैन ।

उहाँले नेपालमा बनेको अधुरो र अपुरो संविधानले गर्दा नयाँ संरचनाले समेत जनतामा आशा जगाउन नसकेको बताउनुभयो । धेरै ऐन कानुन नबन्दा संघीय संरचनाले समेत जनतामा सेवा सुबिधा दिलाउन नसकेको अवस्था रहेको उहाँको भनाइ छ । स्थानीय सरकार बलियो बन्नुपर्नेमा उहाँको जोड छ । अझै पनि बिकासका लागि केन्द्रकै भर पर्नुपर्ने समस्या रहेको भन्दै स्थानीय सरकार बलियो हुनेगरी ऐन नियम बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय सरकार प्रमुख, विभिन्न नागरिक समाज, निजि क्षेत्रका प्रतिनिधिले आ आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *