> आर्थिक/बिकास > गाउँपालिकाको धेरै कार्यक्रम कृषि तथा पशुपालनमा केन्द्रित छ : अध्यक्ष रोका


गाउँपालिकाको धेरै कार्यक्रम कृषि तथा पशुपालनमा केन्द्रित छ : अध्यक्ष रोका

प्यूठान जिल्लाका नौ वटा स्थानीय तहमध्ये सवैभन्दा कम उमेरका गाउँपालिका अध्यक्ष हुनुहुन्छ माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका । पाँच वटा वडा रहेको यस गाउँपालिकामा नयाँ सङ्रचना सहितको जनप्रतिनिधि आएसँगै विकास निर्माणको गतिविधि अगाडी बढेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण लगायत क्षेत्रमा यस गाउँपालिकाले प्राथमिकताका साथयोजना अघि बढाएको छ । यसै विषयमा माण्डवी गाउँपालिका प्यूठानका अध्यक्ष श्रीधर रोकासँग गरिएको कुराकानीको सार सङ्क्षेप ः

पहिलो चौमासिक सकिएको छ ? योजनाहरु कसरी अघि बढेका छन् ?
कोरोनाको कारणले धेरै योजनाहरु समयमै शुरु गर्न नसकेको अवस्था भएपनि यो वर्षका कार्यक्रम असार मसान्तभित्र सम्पन्न हुने गरि हामी लागिपरेका छौं । अहिले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारमुलक कार्यक्रमहरु शुरु भइरहेका छन् ।

माण्डवी गाउँपालिकाले के कस्ता योजनालाई प्राथमिकता दिएको छ ?
मुख्यगरि गाउँपालिकाको भौतिक पुर्वाधार निर्माण अन्र्तगत यो वर्ष पालिकाको भवन धमाधम निर्माण भइरहेको छ । कृषकले उत्पादन गरेको कृषि जन्य बस्तु राख्नका लागि चिस्यान केन्द्र अन्तिम चरणमा पुगेको छ । कृषि क्षेत्रतिर नै विशेष योजना पालिकाको हुनुपर्छ भन्ने लक्ष्य उदेश्यका साथ माण्डवी गाउँपालिकाको धेरै कार्यक्रम कृषि तथा पशुपालनमा जोड दिइएको छ । व्यावसायिक कृषि खेती, बाख्रापालन जस्ता कार्यक्रमबाट बेरोजगार युवालाई रोजगार प्रदान गर्ने गरि बजेट विनियोजन गरेका छौं ।

पालिकाले अघिल्लो वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युतिकरणमा प्राथमिकता दिँदै योजना अघि बढाएको थियो । ति योजना कति पुरा भए ?
हामी जनप्रतिनिधि आइसकेपछि एक हजार पाँच सय घरधुरीमा एकघर एक धारा पु¥याइसकेका छौं । पालिकाका धेरै ठाउँमा खानेपानीको समस्या छ । माण्डवी गाउँपालिका र प्रदेश सरकारको लगानीमा खानेपानीका अरु योजना बन्दैछन् । हाम्रो कार्यकालभित्र पालिकाभित्र आधारभुत तहमा खानेपानीको उपलब्धता हुने गरि हामी लागिपरेका छौं ।
स्वास्थ्यको कुरा गर्दा गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाई, गाउँघर क्लिनिक निर्माण गर्ने काम गरिरहेका छौं । केन्द्र सरकारको नीति अनुसार १५ शैयाको अस्पताल बन्दैछ । अस्पतालको शिलान्यास गरिएको छ, डिपिआर बन्दैछ र केहि समयमा टेण्डर प्रक्रियामा जाँदैछ ।
माण्डवीका कुनै पनि जनता अँध्यारो टुकी बत्तिमा बस्नु नपरोस् भन्ने उदेश्यका साथ ‘उज्यालो घर माण्डवीको भर’ भन्ने मुल नाराका साथ आर्थिक स्थिती अत्यन्त कमजोर भएका घरपरिवारलाई पालिकाको आर्थिक लगानीमा मिटरबक्स, तार उपलब्ध गरेर सवै घरमा यसै वर्ष उज्यालो बनाउने कार्यक्रम छ । धेरै घरमा विद्युत जडान भइसकेको छ, छुटेकालाई मात्र यो वर्ष जडान गर्ने कार्यक्रम छ ।
माण्डवी गाउँपालिकाको २६ वटा सामुदायिक विद्यालयमध्ये धेरै ठाउँमा भौतिक पूर्वाधारको अभाव, भएका पूवाधार जीर्ण अवस्थामा थिए । त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छौं । मुख्य समस्या भएको नीजि शिक्षक व्यवस्थापनमा समस्या छ, त्यसका लागि करारमा ४० जना शिक्षकको व्यवस्थापन गरेका छौं । आवश्यकता र विद्यार्थी संख्याको आधारमा त्यो काम गरिएको छ ।
पालिकाकै मुख्य विद्यालय माण्डवी माविमा प्राविधिक धारको कक्षा शुरु भएको छ । त्यसलाई नमुना स्कुल बनाउन हामी सफल भैसकेका छौं । त्यहाँ अध्ययनरत विद्यार्थीलाई विद्यालय आवत जावत गर्न अप्ठ्यारो पर्ने भएकाले त्यसको सहजताका लागि बसको व्यवस्था गरेका छौं ।

कृषि क्षेत्रमा यो वर्ष बढी बजेट विनियोजन गरेको कुरा गर्नुभयो । त्यसको प्रभावकारी कार्यान्वयनका लागि के छ संयन्त्र ?
कृषि क्षेत्रमा हाम्रो पालिकाको मात्र कार्यक्रम होइन । यसमा सङ्घीय सरकार र प्रदेश सरकारको पनि लगानी छ । अहिलेको महामारीले बनाएको बेरोजगारीलाई हल गर्नका लागि त्यसप्रकारका कार्यक्रम सञ्चालनमा छन् । प्रत्येक वडामा कृषिजन्य सामाग्रीको सङ्कलन केन्द्र स्थापना गर्ने कार्यक्रम राखिएको छ । कृषकले उत्पादन गरेका सामाग्री सङ्कलन केन्द्रमा सङ्कलन गरिनेछ । कृषि एम्बुलेन्स भनेर हामीले कार्यक्रम ल्याएका छौं । त्यसले सङ्कलन केन्द्रदेखी पालिकाको मुख्य बजार केन्द्र अथवा हाटबजारसम्म पु¥याएर उचित मुल्यमा विक्री गर्ने व्यवस्था मिलाउँदैछौं । त्यसका लागि हाटबजारको नीति अघि बढाएका छौं । यसले किसानका उत्पादन विक्री नहुने समस्या अथवा कम मुल्यमा विक्री गर्नुपर्ने बाध्यता हटेर किसानलाई थप हौसला प्रदान हुनेछ ।
अनुदानको विषयमा धेरै समस्या देशभर पनि देखिएकाले उत्पादनका आधारमा प्रोत्साहन कार्यक्रम अघि बढाउँदैछौं । उत्पादन गरेर कति विक्री गर्नुभयो भनेर वडाका सङ्कलन केन्द्रमा तथ्याङ्क राख्ने र त्यहि अनुसार प्रोत्साहन अनुदान दिने गरि छलफल गरिरहेका छौं । मापदण्ड बनाउन लागिएको छ । उत्पादन भएका बस्तुको मुल्य पाएन, धेरै उत्पादन भएर खपत भएन भने त्यसलाई चिस्यान केन्द्रमा राख्न सक्ने अवस्थामा हामी छौं । स्मार्ट कृषि गाउँ कार्यक्रम पनि सञ्चालनमा छ । करोडौं रकम अहिले कृषिमा लगानी हुँदैछ । कृषि क्रान्तिविना पालिकाको विकास हुँदैन भनेर हामी लागेका छौं ।

तपाईले निर्वाचनका बेला गर्नुभएको प्रतिवद्धता कति पुरा भए ?
हामी जनप्रतिनिधिको समयावधि ७५ प्रतिशत बढी सकिसकेको अवस्थामा निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नियाल्दा हामी समय अनुसार पुरा गर्दै आएका छौं । माण्डवी गाउँपालिकाको धेरै ठाउँमा सडकको पहुँच नभएको अवस्था र अहिलेको अवस्था मुल्याङ्कन गर्न सक्नुहुन्छ । एक, दुई गाउँ बाहेक अप्ठेरो भुगोलका बाबजुद पनि ती ठाउँमा सडक विस्तारको काम अन्तिम चरणमा गइसकेको अवस्था छ । करिव डेढ वर्षको अवधीमा जनताको माझमा गरिएको प्रतिवद्धता अनुसार सवै ठाउँमा सडक पु¥याउने प्रतिवद्धता पुरा हुन्छ ।
त्यसैगरि साढे नौ सय परिवारको खरको छानो मुक्त बनाउने लक्ष्य यसै वर्ष पुरा गर्दैछौं । हाम्रो पालिका र प्रदेश सरकारको समपुरक कार्यक्रमबाट यो कार्यक्रम हामी सम्पन्न गर्दैछौं । १५ सय घरधुरीमा एक घर एक धारा विस्तार भइसकेको छ भने अरु ठाउँमा खानेपानीका योजना सुचारु भइरहेको अवस्था छ । शिक्षा क्षेत्रमा गरिएको लगानीले शिक्षाको गुणस्तरमा सुधार आएको छ । विकट गाउँमा स्वास्थ्य सेवा पु¥याएका छौं । खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान निर्माणको काम डीपीआर माध्यमबाट अघि बढेको छ ।
गाउँपालिकामा चाहिने विरुवा बाहिरबाट ल्याउनु नपर्ने गरि नर्सरी उत्पादनको काम यसै वर्षबाट हुँदैछ । पालिकाको प्रशासनिक भवन बन्दैछ । अस्पताल बन्ने क्रममा छ । चिस्यान केन्द्र केहि समयपछि सञ्चालनमा आउँछ । त्यसकारण हामी जनप्रतिनिधि आइसकेपछि धेरै फरक परिसकेको अवस्था छ । गरिवीको रेखामुनी रहेका दलित, जनजाति, पिछडिएको वर्गलाई विकासको मुलधारमा ल्याउने लक्ष्यका साथ हामी अगाडी बढेका छौं । हामीले बोलेका कुरा हाम्रो यो पाँच वर्षको अवधिमा पुरा हुँदैछ । बचेको समयमा थप काम गर्न हामी लाग्छौं ।

कोभिडका कारण रोजगारी गुमाएर आएका युवा फेरी भारत लगायत तेस्रो देश फर्किरहेका छन् । माण्डवी गाउँपालिकाले ती युवालाई रोक्न कस्तो कार्यक्रम बनाएको छ ?
एकदम महत्वपूर्ण प्रश्न उठाउनुभयो, धन्यवाद । कोभिड प्रभावित भएर धेरै युवाहरु भारत लगायत तेस्रो मुलुकबाट नेपाल फर्कनुभयो । हाम्रो पालिकामा मात्र झण्डै १७ सय जना युवा भित्रिएका थिए । उहाँहरुलाई गाउँमै बस्ने वातावरण बनाउनुपर्छ भन्ने लक्ष्य उदेश्यका साथ कार्यक्रम तय गरेको अघि नै भनिसके । त्यसका लागि करोडौं रकम विनियोजन गर्दै गर्दा त्यसमा प्रदेश सरकार र केन्द्र सरकारले विशेष अनुदान, समपुरक अनुदान आइरहँदा दुःखको कुरा धेरै युवाहरु मलाई जहासम्म लाग्छ ७५ प्रतिशत युवाहरु आफ्नो गाउँघर छाडेर गइसकेको अवस्था छ । यो हाम्रो मात्र पालिकाको समस्या होइन, देशैभरको समस्या हो ।
देश विकास नहुनुको मुल समस्या यो हो जस्तो मलाई लाग्छ । हाम्रो पालिकामा आउनुभएका महानुभावहरुसँग क्वारेन्टाइन व्यवस्थानपनका बेला उहाँहरुको रुचि, चासो र भविष्यको योजनाको बारेमा अन्र्तक्रिया पनि गरेँ । रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिदासम्म विकास हुँदैन र त्यसलाई तोड्नुपर्छ भन्ने विषयमा भलाकुसारी गरेको थिए । तर अझै पनि सवैलाई यहिँ व्यवस्थापन गर्ने आधार तयार नभइसकेको अवस्था पनि हो । यो हाम्रो देशकै समस्या हो । त्यसकारण यो विषयलाई केन्द्र सरकार र प्रदेश सरकारले नै यहि देशमा स्वरोजगार हुने गरि ठूला उद्योग कलकारखाना खोल्ने उदेश्य राख्नुपर्छ । धेरै युवाहरु गइसक्नुभयो । जति पनि हुनुहुन्छ उहाँहरुलाई अब हामी छिटै कार्यक्रम शुरु गरेर उहाँहरुको इच्छा चाहना अनुसार कृषि क्षेत्र अथवा विभिन्न तालिम गर्ने विषयमा हामी अगाडी बढ्छौं ।

अन्तिममा स्थानीय तहले भोगेको मुख्य चुनौती के हो ?
सवै काम जनप्रतिनिधिबाट हुनुपर्छ भन्ने जनताको इच्छा आकाङ्क्षा छ । त्यो हुनु स्वभाविक पनि हो । गाउँगाउँमा सिंहदरबार भनेर जुन एउटा नारा ल्याइएको थियो, त्यसअनुसार सवै चिज यहिबाट पाउनुपर्छ, सवै चिज एकै पटक हल भए हुन्थ्यो भन्ने जनताको चाहना छ । तीन तहको सरकारमा हामी स्थानीय तहको सरकारको जनप्रतिनिधि भइरहदा सिमित स्रोत र साधनले अगाडी बढीरहेका छौं । जनताको सवै इच्छा चाहना एकै पटक पुरा गर्न नसकेको अवस्था छ । नयाँ संरचना भएकाले हामी सवै जनप्रतिनिधिले पहिलो अनुभव गर्दैछौं । गर्दै सिक्दै काम गर्ने मौका हामीलाई मिलेको छ । हामीले त्यसप्रकारले जनतालाई सेवा सुविधा उपलब्ध गराइरहेका छौं ।
स्रोत साधन प्रशस्त रुपमा नभएको कारणले पनि हामी स्थानीय सरकार सञ्चालनमा हामीले चाहे अनुसार काम गर्न सकेका छैनौं । कर्मचारी व्यवस्थापन, बजेट व्यवस्थापनमा अझै पनि प्रदेश सरकार र केन्द्र सरकारसँग भर पर्नुपरेको छ । गाउँपालिकाको आन्तरीक आय नहुँदा भनेजस्तो सेवा प्रवाह गर्न नसकेको अवस्था छ । त्यसका बावजुद पनि जनतासँग हातेमाले गरेर अघि बढेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *