वासुदेव गिरी
झिमरुक। प्युठानको झिमरुक गाउँपालिका अन्तर्गत पर्ने लालिगुरास रंगशाला दिहाल्नामा दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव २०८० संचालन गरिने भएको छ ।
शुक्रबार दिहाल्नामा भएको तीन पालिकाको अन्तरक्रिया कार्यक्रमले झिमरुक,नौबहिनी र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा आगामी बैशाख १ गते देखि ७ गते सम्म दिहाल्ना खेलकुद तथा पर्यटन महोत्सव संचालन गर्ने निर्णय भएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन पालिकाको संगम स्थलमा निर्माणाधीन लालिगुरास रंगशाला क्रिकेट मैदानलाई प्रदेश स्तरीय रंगशाला निर्माण गर्न प्रदेश र संघ सरकारलाई तिनवटै स्थानीय तहको संयुक्त पहलमा योजना माग गर्ने सहमति भएको छ ।
दिहाल्ना पर्यटन पुर्वाधार बिकासको लागि झिमरुक-७ र ८, वडाको दिहाल्ना र हलहले गौमुखी-६, वडाको दिहाल्ना, बुक्तीचौर र नौबहिनी-६, वडा लुङको बिकुटा थाम, हलहलेलाई समेटेर खेलकुद तथा पर्यटन पुर्वाधार निर्माण गर्न तिनैवटै पालिकाले आफ्नो प्रतिबद्धता जनाएका छन् । दिहाल्ना पर्यटन पुर्वाधार निर्माण गर्न संयुक्तरूपमा विस्तृत गुरुयोजना (डिपिआर) तयार गर्ने समेत सहमति भएको छ ।
दिहाल्ना खेलकुद पर्यटन बिकास कार्यक्रमका संयोजक गोबिन्द गिरीले कार्यक्रममा लालिगुरास रंगशाला खेलकुद मैदानको पुर्वाधार बिकास र यस क्षेत्रको दीर्घकालीन रुपमा पर्यटन बिकास गर्ने उदेश्य बारे अन्तरक्रिया कार्यक्रममा जानकारी गराउनु भएको थियो । दिहाल्नामा पर्यटनको प्रचुर सम्भावना भएकोले यहाँको बिकासमा सहयोग गर्न तिनै तहका स्थानीय सरकारका प्रमुखहरुलाई संयोजक गिरीले आग्रह गर्नुभयो ।
तिनवटै पालिकाका अध्यक्ष र उपाध्यक्षहरुले यहाँको पर्यटन बिकासको सबै सम्भावनाहरुको पहिचान गरि आवश्यकताको आधारमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको वडा अध्यक्ष तुलस बहादुर बस्नेतले बताउनुभयो ।
झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विष्णा थापा र गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, उपाध्यक्ष महाबिर राना नौबहिनी गाउँपालिका वडा नम्बर ४ र ६ का वडा अध्यक्षहरु भिम बहादुर घर्ती, मान बहादुर के.सी.,त्यस्तै गौमुखी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चन्द्रबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत वडा सदस्यहरु स्थानीय जनता लगाएतको उपस्तिथि रहेको थियो ।