> स्थानीय सरकार > स्वर्गद्धारीबासीलाई भोकै मर्न दिदैनौं


स्वर्गद्धारीबासीलाई भोकै मर्न दिदैनौं

नेत्रबहादुर रोकाय क्षेत्री
नगर प्रमुख
स्वर्गद्वारी नगरपालिका
संक्रमितको फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी र एम्वुलेन्स चालकका लागि व्यक्तिगत सुरक्षा सामाग्री र त्यस प्रकारका औषधीहरु अहिले तत्कालको आवश्यकता हो ।

१) सरकारले लक डाउनलाई थप कडाई गरको छ ? त्यसका लागि स्वर्गद्वारी सरकारले कसरी काम गर्दैछ ?
सर्बप्रथम त विश्वभर फैलिईरहेको कोरोना भाईरस (कोभिड १९)का बारेमा सवैले जानकारी राख्नु आवश्यक छ । यसको जानकारी भएमा सबैले स्वतः लक डाउनको पालन गर्छन् । महामारीको यस विषम परिस्थितिमा घरबाट बाहिर ननिस्कने, एक अर्कासँग नजिक नहुँने गर्नुपर्छ । भाईरस संक्रमणको लक्षण सवैलाई नदेखिए पनि उसले भाईरस सारिरहेको हुन सक्ने भएकाले लक डाउनको पूर्ण पालना गर्न म स्वर्गद्वारी नगरबासीहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि साथीहरुको सक्रियतामा हामिले यसका बारेमा शुरुदेखि नै सचेतनामा जोड दियौं । माईकिङ गर्ने, पर्चा वितरण गर्ने, सिमा नाकामा स्वास्थ्य परीक्षण तथा तथा नगरपालिकामा भित्रनेहरुको लगत संकलन गरेका छौं । वेवसाईट, फेसबुक पेजहरु प्रयोग गरेका छौं । जसबाट घरमै बसेर पनि नगरबासीहरुले सूचना लिन सक्नुहुनछ ।

२) लक डाउनकै कारण समस्यामा परेका ज्यालादारी श्रमिक, असहायको पहिचान र राहत वितरण के कसरी हुँदैछ ?
दैनिक ज्यालामा काम गरेर साँझ विहानको गुजारा चलाउने श्रमिक बर्गसँगै असंगठित मजदुर, असहाय, एकल महिला, बृद्धबृद्धा, अपा∙हरु जसको आयआर्जनका बाटाहरु बन्द भएका छन्, उनीहरुको लागत संकलन भैसकेको छ । सामाजिक सुरक्षा सत्ता पाउनेहरुलाई यो सुविधा उपलब्ध गराएका छैनौं ।
वडा कार्यालयले स्थानीय रुपमै सर्वपक्षिय बैठक बसेर राहत पाउनु पर्ने परिवारको लिष्ट तयार गर्नुभयो । नगरपालिकाले रुजु गरेर आवश्यक खाद्यान्न पठाउने गरिएको छ । यसमा दुई वटा प्याकेज छ । ४ जनासम्म परिवार संख्या भएकोमा २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र १ किलो स्वयाविन दिन्छौं । र, ४ जनाभन्दा बढि परिवार संख्या भएमा प्रति व्यक्ति ५ किलो चामल थप गरी वितरण थालेका छौं । वडा नं. ३, ५, ७ र ८ मा खाद्यान्न वितरण सकिएको छ । बाँकीमा तुरुन्तै सक्ने गरी काम भैरहेको छ ।

३) क्वारेन्टाइनको अवस्था के हो ? बाहिरबाट आएका कति हुन ? कति बसेका छन् ? किन बस्न मानेनन ?
९८ वेडको क्वारेन्टाईन निर्माण गरिएको छ । त्यसबाहेक आवश्यक परेको खण्डमा सवै ५४ वटै विद्यालयलाई क्वारेन्टाईन बनाउन सकिने गरी निर्णय पनि गरिसेका छौं । फागुन २८ गतेपछि हाम्रो पालिकामा ६३० जना भारत तथा तेश्रो मुलुकबाट भित्रिएका छन् । ३३ जना अहिले क्वारेन्टाईनमा बसि रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा ३ र बहुउद्देश्यीय सभाहल आईटी पार्कमा १० वटा थप गरी १३ वटा आईसुलेसन वेड तयारी अवस्थामा छन् ।
आफ्नो र परिवारको सुरक्षाका लागि १४ दिन क्वारेन्टाईनमा बस्नुपर्छ भनेर प्रोत्साहनका लागि दैनिक २५० रुपैंया उपलब्ध गराउने निर्णय पनि गरेका छौं । भोलि नै ११ जना १४ दिन पुरा गरेर ३५०० रुपैंया लिएर घर फर्किँदै हुनुहुन्छ ।

४) अहिलेको महामारीमा जनताले स्थानीय सरकारको अनुभुती गर्न पाए त ? कसरी ।
स्वर्गद्वारी नगरबासीलाई स्थानीय सरकारको प्रत्यक्ष अनुभुति हुने गरी काम गरिरहेका छौं जस्तो लाग्छ, यो त नगरबासीहरुले मुल्यांकन गर्ने कुरा हो । हामीले कोरोना भाईरसको महामारीका विषयमा सन्देशमुलक काम, राहत वितरण गरेका छौं । नगरबासीहरुलाई भोकै मर्न पर्दैन भन्ने प्रतिवद्धता गरेका छौं । शंकास्पद विरामीलाई निशुल्क उपचारमा सहयोग गरेका छौं । एकजना महिला वेलझुण्डि दाङमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचार गरि फर्कनु भएको छ ।
अहिलेसम्म अवस्थालाई हेर्दा भारत र तेश्रो मुलकबाट आएकाहरु मार्फत संक्रमण फलिने सम्भावना भएकाले उनीहरुको निगरानी बढाएका छौं । विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनमा बसेकाहरुलाई नगरपालिकाबाट समेत नियमित अनुगमन गर्छाै । घरमै बसेकाहरुलाई महिला स्वास्थ्य स्वयमसेविका र जनप्रतिनिधिहरुले नियमित निगरानी गरिरहनुभएको छ । उनीहरुमा कुनै पनि खालको स्वास्थ्य समस्या भएमा तत्काल उपचारको प्रवन्ध गर्नेछौं ।
लक डाउनका कारण खाद्यान्न सकिन सक्ने अवस्थालाई मध्यनजर गरी खाद्य आपुर्ति समिति बनाएका छौं । अहिले हामीसँग भएको स्टकले ५ महिना पुग्ने देखिन्छ । यदि थप आपुर्ति गर्नुपरेको खण्डमा आपुर्ति समिति मार्फत पास बनाएर खाद्य ढुवानी गर्न सकिनेछ ।

५) यो महामारी नियन्त्रणका लागि स्थानीय सरकारलाई के सहयोग आवश्यक छ ?
सबैभन्दा पहिले त लक डाउनको यस समयमा घरमै सुरक्षित बसेर सहयोग गर्नुभएकोमा म सम्पूर्ण नगरबासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै यसलाई निरन्तरता दिन अनुरोध समेत गर्दछु । अहिले नगरपालिकाले आफ्नै कोषबाट खाद्य सामाग्री उपलब्ध लगायत सवै खर्च चलाएका छौं । महाविपत्तिको यो समयमा भोलिका दिनमा नगरपालिकाको एक्लो प्रयासले मात्र नहुन सक्छ । यसका लागि सवैसँग सहयोगको अपेक्षा गर्दछु ।
अहिले पहिलो सुरक्षा भनेको स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीहरुको सुरक्षाको विषय हो । संक्रमितको फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी र एम्वुलेन्स चालकका लागि व्यक्तिगत सुरक्षा सामाग्री र त्यस प्रकारका औषधीहरु अहिले तत्कालको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!