> राजनीति > वामदेव गौतमको लाईन क्लियर हुनुपर्छ : वर्षमान पुन


वामदेव गौतमको लाईन क्लियर हुनुपर्छ : वर्षमान पुन

प्यूठान, ५ माघ । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टी एकताको पक्षमा नेता वामदेव गौतमले चालेको कदम सकारात्मक भएपपिन अहिले त्यो सम्भावना नरहेको बताउनुभएको छ ।

वर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम फिर्ता लिएर नसच्चिएसम्म पार्टी एकता हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

 

प्रेस संगठन प्यूठानले सोमबार विहान जुम्रीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपाका नेता कार्यकर्तादेखि आम जनसमुदाय पार्टी विभाजनको अवस्थामा दुःखी भएको भन्दै उहाँले एकताको पक्षमा कदम चाल्नु राम्रो भएको धारणा राख्नुभयो । उहाँले नेता गौतमले कुनै एउटा लाइनमा संलग्न भएर पनि पार्टी एकतालाई जोड्न सक्ने भन्दै त्यसतर्फ लाईन क्लियर गर्नुपर्ने सुझाव दिनुभयो ।

 

अदालत र आयोगले छिटो न्याय दिनुपर्छ
संसद विघटनको विषयमा अदालतमा चलेको बहस छिटो टुङ्गोमा पुग्नुपर्ने नेता पुनको भनाई छ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको तर्क प्रस्तुत गर्दै उहाँले अदालतको बहस छिटो टुङ्गिनुपर्ने धारणा राख्नुभएको हो ।

 

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो ।” नेकपा भित्रको विभाजनको विषयमा धारणा राख्दै नेता पुनले निर्वाचन आयोगले आधिकारिकता दिने विषयमा पनि ढिला गर्न नहुने बताउनुभयो । उहाँले प्रचण्ड–माधव नेपाल पक्षसँग पार्टीको स्पष्ट बहुमत रहेको भन्दै आधिकारिक दलको मान्यता आफ्नो पक्षले पाउने दावी गर्नुभयो ।

 

सरकारलाई काम गर्न बाधा थिएन

पूर्व ऊर्जा तथा जलश्रोत मन्त्री समेत रहनुभएका पुनले प्रधानमन्त्री ओलीलाई काम गर्न पार्टी र सरकारका रहेका मन्त्रीहरुले बाधा नपु¥याएको स्पष्ट पार्नुभयो ।

 

“पार्टीले प्रधानमन्त्री ओलीलाई सरकार चलाउन बाधा गरेको थिएन,” उहाँले भन्नुभयो, “संसदमा विधेयक पास गर्न अवरोध गरेको थिएन ।” पार्टीले स्पष्ट रुपमा उहाँलाई सरकार चलाउन दिने निर्णय गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।

 

उहाँले प्रधानमन्त्री ओलीले स्वेच्छाचारी कदम चालेकाले पार्टी विभाजनको अवस्थामा आइपुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *