> समाज > अंपागता अधिकारी परिवारको घर निर्माणका लागि आर्थिक सहयोग


अंपागता अधिकारी परिवारको घर निर्माणका लागि आर्थिक सहयोग

प्यूठान, १८ मंसिर । माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउका अपांग (दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीका लागि घर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

आर्थिक अवस्था कमजोर भएका अधिकारी दम्पतीलाई नयाँ घरमा बस्ने अभियानलाई साकार बनाउन विभिन्न निकायको सहयोगमा घर निर्माण कार्य थालनी गरिएको थियो । माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ्ग ढाड स्थायी घर भएका हाल प्यूठान नगरपालिका वडा नं ४ जुम्रीमा बस्दै आउनुभएका सामाजिक अभियान्ता हरी बस्नेतको नेतृत्वमा विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरी घर निर्माण गरिएको हो ।

 

अधिकारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले अभियान्ता बस्नेतले विभिन्न संघसंस्था, विभिन्न व्यक्तिहरु स्थानीय जनसमुदायबाट सहयोग जुटाएर घर निर्माण थालनी गरिएको हो । घर निर्माणका लागि विभिन्न क्षेत्रबाट हालसम्म करिब तीन लाख रुपियाँ रकम संकलन भएको थियो । त्यस्तै घर निर्माणमा आवश्यक जस्तापाता, ग्रिल सामाग्री, पेन्ट, निर्माण सामाग्री, शौचालयको आवश्यक सामाग्री, विद्युत वाईरिङ सामाग्री, ढुवानीका लागि टिप्पर, ६० बोरा सिमेन्ट , पर्दा कार्पेट उपलब्ध गराउने विभिन्न संघसंस्था तथा व्यक्तिले प्रतिबद्धता जनाई सामाग्रीहरु सहयोग समेत गरेको अभियान्ता बस्नेतले बताउनुभयो ।

विहिवार अधिकारी दम्पतीको घर निर्माणका लागि नेपाली जनसेवा संस्था प्युठानले ५ हजार ५५ रुपियाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष मिठु पुरी, सचिव तिलोचन थापा, सदस्य ईन्द्रबहादुर महतरा र सदस्य विजयकुमार घर्तीको एक समुहले सामाजिक अभियान्ता बस्नेतलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले विहिवार घर निर्माण हुने स्थानमै पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम ग्रहण गर्दै बस्नेतले अधिकारी दम्पतीका लागि घर निर्माणमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । विहिवार नै प्यूठान नगरपालिका वडा नं ८ लामीछाराकी हिमा दसौदीले ६ सय रुपियाँ सहयोग गर्नुभएको छ ।

 

गत कार्तिक १३ गतेदेखि घर निर्माणको काम सुरु गरिएको हो । अधिकारी दम्पतीका लागि भान्सा कोठा सहित तीन वटा कोठा र शौचालय सहितको घर निर्माण गरिएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बस्नेतले भने,–‘रंगरोगन र झ्यालढोका राख्न बाकी छ।’ अबको केही दिनमा सबै काम सकी नवनिर्मित घर अधिकारी परिवारलाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । अभियान्ता बस्नेतले अधिकारी दम्पतीको घर निर्माणका लागि अन्य सहयोगीदातालाई सहयोगका लागि समेत आग्रह गर्नुभएको छ । घर निर्माणका लागि अनुमानित ६ लाख ५ हजार तीन सय ४० रुपियाँ बराबरको प्राविधिक स्टिमेट गरिएको थियो । अंपाग दम्पतीको ५ जनाको परिवार दुई कोठे ओसारीमा बस्दै आएका छन् ।

 

घर निर्माण भएपछि अधिकारी परिवारमा खुसीयाली छाएको छ । एउटा कोठामा खाना पकाउने खाने र कुखुरा राखेका थियौँ, अंपाग दम्पतीका १६ वर्षिय छोरा आकाश अधिकारीले भन्नुभयो,–‘ ५आज जना एउटै कोठामा सुत्दै आएका छौँ ।’ एउटै कोठामा सुत्दा निकै अफ्ठेरो हुने गरेको समेत उहाँले बताउनुभयो । अंकलले दिएको ओसारी पनि जीर्ण हुदै गएको थियो, आकाशले भन्नुभयो,–‘नयाँ ठाउँमा घर निर्माण भएपछि हामी खुसी भएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *