> समाज > छैठौं उद्योग दिवसमा उद्योगीको पीडा : कोभिडले बैंकको ऋणको चिन्ता


छैठौं उद्योग दिवसमा उद्योगीको पीडा : कोभिडले बैंकको ऋणको चिन्ता

प्यूठान, ९ मंसिर । कोभिड १९ को प्रभावले उद्योगी व्यवसायीलाई बैंकको किस्ता तिर्ने र कर्मचारीको तलव भुक्तानीको चिन्ताले सताएको उद्योगीहरुले बताएका छन् । छैंठौं उद्योग दिवसको अवसरमा प्यूठान खलंगामा आयोजित एक कार्यक्रममा सहभागी उद्योगीहरुले साना उद्योग प्रवद्र्धनको कार्यक्रम सरकारले संचालन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य नेगन सिंह कवरले कोभिडको मर्कामा परेका उद्योगहरुलाई उकास्ने योजना ल्याउन सरकारसँग आग्रह गर्नुभयो । ठूला उद्योगलाई हेरेर मात्र नीति बनाउन नहुँने भन्दै उहाँले दुरदराजका स–साना उद्योगहरुको प्रवद्र्धनका लागि नीति नियमबारे जानकारी गराउनुपर्ने उहाँको धारणा थियो ।

‘औद्योगिक ऐन नियम बारेमा सवैलाई एथेष्ट जानकारी छैन ।’ ,उहाँले भन्नुभयो, ‘सरकारी निकायहरुले दर्ता प्रमाण पत्र र नविकरण मात्र होइन शिक्षा दिन पनि जरुरी छ ।’ सहुलियत कर्जा, नयाँ नयाँ प्रविधि र सीप मुलक तालिमहरु संचालन गर्नुपर्ने उहाँको धारणा थियो ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको छैठौं उद्योग दिवस कार्यक्रमको मुल नारा ‘उद्योग र रोजगार : समृद्धिको आधार’ थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले पुँजि पलायनलाई रोक्नु पर्ने बताउनुभयो । स्थानीय पुँजीलाई स्थानीय स्तरमै परिचालन गर्न सकेमा उत्पादन र रोजगारीका अवसरहरु श्रृजना हुने उहाँले उल्लेख गर्नुभयो ।

कोभिडका कारण भन्दै नअल्झन आग्रह गर्दै उहाँले कार्यालयलाई प्राप्त भएको कार्यक्रम समयमै संचालन गर्न निर्देशन समेत दिनुभयो । उद्योगी र सरकार वीचको समन्वयकारी भुमिका निर्वाह गर्ने प्रजिअ भुसालले प्रतिवद्धता जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *