> समाज > स्वर्गीय महेशको स्मृतिमा प्रतिक्षालय निर्माण


स्वर्गीय महेशको स्मृतिमा प्रतिक्षालय निर्माण

प्यूठान, ६ मंसिर । प्यूठान नगरपालिका वडा नं ३ पुष्पलाल चोक जुम्रीमा महेश स्मृति प्रतिक्षालय निर्माण गरिएको छ । प्यूठान नगरपालिका वडा नं ३ जुम्रीका स्वर्गीय विद्यार्थी नेता महेश वि.क.को स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको हो । यस क्षेत्रका स्थानीय तथा अनेरास्ववियू प्यूठानको पहलमा आर्थिक संकलन गरी प्रतिक्षालय निर्माण गरिएको जनाईएको छ ।

नवनिर्मित प्रतिक्षालयको आज उद्घाटन गरिएको छ । समाजसेवी डाक्टर लेखराज सुवेदीले प्रतिक्षालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा सुवेदीले स्वर्गीय महेशको सम्झनामा यूवाहरुले आर्थिक श्रम र बौद्धिक क्षमता सम्झेर उनको योगदानलाई सम्झना स्वरुप प्रतिक्षालय निर्माण गरेकोमा खुसी व्यक्त गर्नुभयो। यस क्षेत्रका होनाहार यूवालाई गुमाउनु परेको स्मृति गर्दै सुवेदीले यस्ता रचनात्मक कामले उनलाई सदैव सम्झिरहने बताउनुभयो । प्रतिक्षालय निर्माणले यस क्षेत्रको फाईदासंगै यस क्षेत्रमा आवतजावत गर्ने नयाँ यात्रीहरुले पनि स्वर्गीय महेशको बारेमा जानकारी लिन सक्ने उनले बताउनुभयो ।

 

स्वर्गीय महेशको सम्झनामा निर्माण गरिएको प्रतिक्षालयले प्यूठान नगरपालिका भित्रका जनताहरुसंगै यस क्षेत्रमा आवत जावत गर्ने जुनसुकै स्थानका यात्रुलाई फाईदा पुग्ने महेश स्मृति प्रतिक्षालय निर्माण संरक्षक सुमन श्रेष्ठले बताउनुभयो । यस क्षेत्रका यूवाहरुको सकृयतामा निर्माण भएको प्रतिक्षालयले स्वर्गीय महेशको मानमर्दनमा थप सहयोग पुग्ने समेत उनले बताउनुभयो । स्थानीय र अनेरास्ववियूको पहलमा ८४ हजार ५ सय ५० रुपियाँ लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।


महेश स्मृति प्रतिक्षालयले अनेरास्ववियू प्यूठानको पहिचान बोकेको अनेरास्ववियू प्यूठानका सहसंयोजक पुस्कर शर्माले बताउनुभयो । स्वर्गीय महेशको स्मृतिमा यसपूर्व पनि जिल्लामा विविध कार्यक्रम सञ्चालन भएको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य, कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।

को थिए महेश ?
महेश वि.क. तत्कालिन अखिल क्रान्तिकारी प्युठानका जिल्ला कमिटी सदस्य एवं क्रिकेटर हुनुहुन्थ्यो । महेशको दोस्रो संविधान सभाको निर्वाचनको दौडानका क्रममा ०७० मंसिर ६ गते प्यूठान नगरपालिका वडा नं १ चेरनेटामा सवारी दुर्घटनामा परी २१ वर्षको उमेरमा मृत्यु भएको थियो । यूवा अवस्थामा समाजमा केहि गर्नुपर्छ भनेर अगाडी बढनुभएका महेशको मृत्यु भएपछि उनको सम्झनामा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आईएको अनेरास्ववियू प्यूठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *