> समाज > घर निर्माण हुन थालेपछि अंपाग दम्पती अधिकारी परिवारमा खुसीयाली


घर निर्माण हुन थालेपछि अंपाग दम्पती अधिकारी परिवारमा खुसीयाली

प्युठान, २९ कार्तिक । माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउका अपांग (दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीका लागि घर निर्माण कार्य सुरु भएको छ ।

लामो समयदेखी भाईले दिएको दुई कोठे ओसारीमा बस्दै आएका अधिकारी दम्पतीको लागि नयाँ घर निर्माण हुन थालेपछि घरपरिवारमा खुसीयाली छाएको छ । माण्डवी गाउँपालिका वडा नं २ मर्काबाङ्ग ढाडका सामाजिक अभियान्ता हरी बस्नेतको नेतृत्वमा विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरी घर निर्माण कार्य सुरु गरिएको हो ।

अधिकारी परिवारको आर्थिक अवस्था कमजोर भएकाले अभियान्ता बस्नेतले विभिन्न संघसंस्था, विभिन्न व्यक्तिहरु स्थानीय जनसमुदायबाट सहयोग जुटाएर घर निर्माण थालनी गरिएको हो । घर निर्माणका लागि विभिन्न क्षेत्रबाट हालसम्म करिब ३ लाख रुपियाँ रकम संकलन भएको छ । त्यस्तै घर निर्माणमा आवश्यक जस्तापाता, ग्रिल सामाग्री, पेन्ट, निर्माण सामाग्री, शौचालयको आवश्यक सामाग्री, विद्युत वाईरिङ सामाग्री, ढुवानीका लागि टिप्पर, ६० बोरा सिमेन्ट , पर्दा कार्पेट उपलब्ध गराउने विभिन्न संघसंस्था तथा व्यक्तिले प्रतिबद्धता जनाई सामाग्रीहरु सहयोग समेत गरेको अभियान्ता बस्नेतले बताउनुभयो ।

अंपाग दम्पतीको ५ जनाको परिवार दुई कोठे ओसारीमा बस्दै आएका थिए । एउटा कोठामा खाना पकाउने खाने र कुखुरा राखेका थियौँ, अंपाग दम्पतीका १६ वर्षिय छोरा आकाश अधिकारीले भन्नुभयो,–‘ ५ जना एउटै कोठामा सुत्दै आएका छौँ ।’ एउटै कोठामा सुत्दा निकै अफ्ठेरो हुने गरेको समेत उहाँले बताउनुभयो । अंकलले दिएको ओसारी पनि जीर्ण हुदै गएको थियो, आकाशले भन्नुभयो,–‘नयाँ ठाउँमा घर निर्माण हुन थालेपछि हामी खुसी भएका छौँ ।’

हामीले घर निर्माणका लागि ओसारी नजिकैको जग्गामा घडेरी खारेका थियौ तर आर्थिक अभावले घर बनाउन नसकेको उहाँले बताउनुभयो । हाम्रो घरको अवस्था बुझी हामीहरुलाई नयाँ घर निर्माण गरिदिन लागेकोमा खुसी व्यक्त गर्दै अब हामीहरुलाई बस्न सहज हुने विश्वास लिएको उहाँले बताउनुभयो । ओसारीमा बस्दा सुत्न बस्न अफ्ठेरो हुन्छ, उहाँले भन्नुभयो,–‘घर निर्माण पश्चात हामी सहज तरिकाले बस्न सक्नेछौँ ।’ आर्थिक अवस्था कमजोर भएका अधिकारी दम्पतीलाई नयाँ घरमा बस्ने अभियानलाई साकार बनाउन विभिन्न निकायको सहयोगमा घर निर्माण थालिएको हो अभियान्ता बस्नेतले बताउनुभयो ।

गत कार्तिक १३ गतेदेखि घर निर्माणको काम सुरु गरेको उहाँले बताउनुभयो । हालसम्म निर्माणको ७० प्रतिशत काम सकिएको छ , बस्नेतले भन्नुभयो,–‘मंसीर १५ सम्म घर निर्माणको सबै काम पुरा गरी परिवारलाई हस्तान्तरण गर्छौ ।’ अभियान्ता बस्नेतले अधिकारी दम्पतीको घर निर्माणका लागि अन्य सहयोगीदातालाई सहयोगका लागि समेत आग्रह गर्नुभएको छ । अधिकारी दम्पतीका लागि भान्छा कोठा सहित तीन वटा कोठा र शौचालय सहितको घर निर्माण गर्न लागिएको छ ।

घर निर्माणका लागि माण्डवी गाउँपालिकाका सब ईन्जिनियर शरदराज अधिकारीले अनुमानित ६ लाख ५ हजार तीन सय ४० रुपियाँ बराबरको प्राविधिक स्टिमेट गर्नुभएको छ । अधिकारी दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षिय आकाश अधिकारी कक्षा ९, माईलो छोरा १२ वर्षिय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षिय करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाईले दिएको आफ्नो घरसंगै जोडिएको दुईकोठे ओसारीमा पाँच जनाको परिवार बस्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *