प्यूठान, २५ भाद्र । प्यूठानमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्यूठानमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार संक्रमितहरु ऐरावति गाउँपालिकाको १५ जना, मल्लरानी गाउँपालिकाका ४ जना र प्यूठान नगरपालिकाका ३ जना रहेका छन् । जसमा ७ देखी ६० बर्षका २ महिला र २० पुरुष रहेका छन् ।
ऐरावति गाउँपालिका र मल्लरानी गाउँपालिकाका संक्रमित सबै विदेशबाट आई गाउँपालिकाले बनाएको क्वारेन्टाइनमै रहेको गाउँपालिका स्रोतले जनाएका छन् ।
यस्तै प्यूठान नगरपालिकाका संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका मध्ये रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ६२४ पुगेको छ । जसमध्ये ५४५ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।
