प्यूठान, ९ असोज । फुलबारी एकीकृत ग्रामीण बिकास संस्थाले स्वर्गद्वारी नगरपालिकाको भिंगृमा मास्क बैंक स्थापना गरेको छ ।
सामाजिक सेवा दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत संस्थाले स्वर्गद्वारी गेट नजिक नभएकाले लिएर जाऊ भएकाले दिएर जाउ भन्ने मुख्य उद्देश्यले मास्क बैंक स्थापना गरिएको संस्थाका कार्यक्रम संयोजक मोहन सुवेदीले जानकारी दिनुभयो ।
मास्क बैंकस्थापनाको पहिलो दिन ४ सय ७३ जनाले मास्क लिएर गएको र भएकाले मास्क खरिदको लागि ७ हजार २ सय रुपियाँ सहयोग दिएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार समाज कल्याण परिषदको आह्वानमा अहिले देशभर सामाजिक सेवा दिवस सप्ताह कार्यक्रम चलिरहेको छ । असोज ६ गतेदेखि सुरू भएको कार्यक्रम १२ गतेसम्म चल्नेछ ।
स्वर्गद्वारी नगरपालिकामा नगरपालिकाको सहकार्यमा अष्ट्रेलियन एडको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्था नेपालको कृषि तथा जीविकोपार्जन प्रवर्द्धन परियोजना र गैर सरकारी संस्था महासंघ जिल्ला शाखा प्यूठानको साझेदारीमा विविध कार्यक्रम सञ्चालन भइरहेको छन ।
संस्थाले असोज ७ गते नगरभित्रका कृषि उद्ममीका लागि जलवायु परिवर्तन प्रविधि सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रम अन्र्तगत कोभिड १९ सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको छ । नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका १९ जना नागरिक तथा आइसुलेसनमा रहेका ३ जना कोरोना संक्रमित नागरिक गरी २३ जनालाई फलफुल समेत वितरण गरेको छ ।
यसैगरी ११ गते स्वर्गद्वारी ३ किमिचौरमा लैङ्गिक समानता प्रवर्द्धन अभिमुखीकरण कार्यक्रम गर्ने कार्यक्रम संयोजक सुवेदीले बताउनुभयो ।
मास्क बैंक स्थापना कार्यक्रममा बोल्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले महामारीका बेला संस्थाले नगरपालिकासँग सहकार्य गरि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । संस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक सुवेदीले गर्नुभएको थियो