> समाज > सरुमारानी गाउँपालिकाद्वारा विद्यालयलाई सेनेटरी प्याड वितरण


सरुमारानी गाउँपालिकाद्वारा विद्यालयलाई सेनेटरी प्याड वितरण

प्यूठान, ५ असोज । सरुमारानी गाउँपालिकाले आफ्ना छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । पालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्याड वितरण गरि गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुका लागि महिनावारीका बेला प्रयोग गर्नका लागि प्याडको व्यवस्था गरेको हो ।

गाउँपालिकाले विद्यालयलाई आजदेखी प्याड वितरण शुरु गरेको छ । पहिलो दिन ६ वटा वडाका प्राथमिक, आधारभुत र माध्यामिक गरी ६ वटा विद्यालयमा १८ हजार १ सय ५० वटा सेनेटरी प्याड वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर घर्तीले जानकारी दिनुभयो । पालिका भित्रका १३ वटा विद्यालयमा वितरण गनुपर्नेमा पहिलो दिन ६ वटा विद्यालयमा प्याड वितरण गरेका छौँ, पालिकाका प्रमुख प्रशासकीय अधिकृत घर्तीले भन्नुभयो,–‘अन्य विद्यालयमा भोली वितरण गर्ने छौँ ।’केन्द्र सरकारबाट अघिल्लो आर्थिक वर्षमा प्याड खरिदका लागि विनियोजित १० लाख रुपिँया मध्ये टेण्डर मार्फत करिब ९ लाख रुपिँया बराबरको सेनेटरी प्याड खरिद गरेको उहाँले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा खरिद गरिएको प्याड कोरोना संक्रमणका कारण विद्यालय बन्द रहेकाले वितरण गर्न नपाएको उहाँले बताउनुभयो । गत आईतबार देखी पालिका क्षेत्रका विद्यालय सञ्चालन आएपछि सेनेटरी प्याड वितरणको कार्य सुरु गरिएको उहाँको भनाई छ ।

रजस्वला हुने उमेर पुगेका प्रावि स्तरसंगै आधारभुत र माध्यामिक विद्यालयका छात्रा विद्यार्थीलाई लक्षित गरि उनीहरुको सहजताका लागि प्याड वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो । घरायसी प्याड प्रयोग गर्दा समस्या हुनुका साथै रजस्वला भएको समयमा विद्यालय छाड्ने समस्याको समाधानमा सहयोग पुग्ने पालिकाले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *