> साहित्य सृजना > कविताः सत्यको गहिराई


कविताः सत्यको गहिराई

  • लिला बल्लभ नेपाल

मलाई मर्न डर कहाँ लाग्छ र अचेल,

म त वहादुरहरुको शहरमा जन्मिएको मान्छे,

यहाँ त ज्ञानीको ज्ञान पनि लुटिन्छ रातारात,

दुर्जनहरुले सज्जनको माला लगाउँछन् यहाँ,

मलाई माफ गर्नु आमा तपाईंले सोचेको

सज्जन छोरो बन्न सकिन यो दुर्जनहरुको भीडमा ।

मेरो सबै ज्ञान थिलथिलो बनाई सकिएको छ आमा,

म त टुक्रा टुक्रामा टुक्रिएको जीन्दगि जईरहेछु,

मेरो जीवन साँघुरो पर्खालले चारैतिर घेरिएको छ,

मेरा शब्दहरुलाई फलामे जन्जिरले कसिएको छ,

जहाँ म अथक प्रयास गरिरहेछु सत्यको गहिराइ खोज्न ।

हजुरले मेरो माथमा दिएको आशिर्वाद लुटिएको छ आमा,

मेरा पौरखी हातहरु कहिल्यै नचल्ने गरी बाँधिएका छन्,

असत्य कुण्ठाले मलाई निरन्तर डोर्‍याइरहेछ,

कहिल्यै नभेटिने डरलाग्दो भुमरीमा हराएको बाटो सँग ।

म सधै चिन्तित छु आमा तपाईको आस्था नडग्मगावस्,

म मेरो स्वतन्त्रताको स्वर्ग कहिले प्राप्त गरुँला,

यो त चण्ड मुण्डहरुले चलाएको शहर रहेछ,

त्यसैले त मलाई मर्न डर लाग्दैन अचेल,

म त वीरहरुको शहरमा जन्मिएको मान्छे,

जोगाउँनु छ मेरो शहर तिनै वीरहरुको पञ्जा वाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *