झइन्द्र भण्डारी
भिंगृ, १९ भाद्र । घरमा लडेर हात भाँचिएपछि उपचारका लागि अस्पताल जाँदै गरेका स्वर्गद्वारी नगरपालिका वडा नम्वर ८ बर्जिवाङ्गका १२ वर्षीय बालक सहित आमा र एक स्थानीयलाई केहि व्यक्तिले कुटपिट गरेका छन् ।
स्वर्गद्वारी नगरपालिका ४ स्थित स्वर्गद्वारी गेटमा विहीबार साँझ विना कारण मादक पदार्थ सेवन गरेका युवाले बालक सहित तीन जनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट बालकको अर्को हात समेत भाँचिएको छ ।
कुटपिटमा संलग्न स्वर्गद्वारी नगरपालिका वडा नम्वर ७ तापाका प्रकाश नेपाली , सन्तोष नेपाली , राजकुमार नेपाली र अनिल कुमार नेपालीलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई जिल्ला पठाइसकेको इन्चार्ज बुद्ध रानाले बताउनुभयो । ईलाका प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न युवाले यसअघि पनि पटकपटक त्यस्तो गतिविधि गरेका थिए । उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा यसअघि छाडिएको थियो ।
अराजक गतिविधि गर्ने व्यक्तिलाई जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाले नै प्रहरी चौकी पुगेर छुटाउने गर्नाले आडभरोसा पाएरै यस्ता क्रियाकलाप दोहोरीरहने गरेको स्थानीयको गुनासो छ ।
