रुपन्देही, २४ साउन । नेपाली हर्ट ग्रुपले अनाथ बालबालिकालाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ र १५ मा रहेका नेपाल अविनास अनाथ आश्रम र रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका बालबालिकालाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल अविनास अनाथ आश्रम रहेका १२ जना बालक र ७ जना बालिका गरेर १९ जना अनाथ बालबालिका र २ जना कर्मचारीहरुलाई खाद्यान्न र कपडा, सरसफाईका सामाग्री हस्तान्त्रण गरिएको ग्रुपका अन्तर्राष्ट्रिय होष्टर डिल्लीराज पराजुलीले बताउनुभयो ।
त्यस्तै रामचन्द्र मैनादेवी अनाथ आश्रममा ११ जना अनाथ बालक र १ जना कर्मचारीलाई सामाग्री हस्तान्तरण गरिएको हो । नेपाली हर्ट ग्रुपले कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालका विभिन्न ठाउँका ब्यक्तिहरुसंग जोडिएर यो अभियान थालेको थियो । टिकटकको गिफ्टबाट संकलन गरेको रकमबाट पहिलो सामाजिक काम स्वरुप प्युठान देखि रुपन्देही पुगेर उक्त सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ ।
ग्रुपमा स्वदेश तथा विदेशमा रहेका करिव १ सय ५ जना व्यक्ति आवद्ध रहेका छन् । टिकटक ग्रुपका प्रेस सल्लाहकार भुवन सिंह, प्युठान उद्योग बाणिज्य प्युठानका पुर्व अध्यक्ष ईमानसिह भारती, टिकटक सघं सम्बद्ध ब्यक्ती, पत्रकार लगाएतको उपस्थितिमा सन्चालक र अनाथ बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
दुई वटा संस्थामा गरेर करिब ८० हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको होस्टर पराजुलीले बताउनुभयो । आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ । टिकट्कबाट पैसा आएको भनेर सुन्दा अचम्म लागेको र यो पहिलो पटक सुनेको रामचन्द्र मैनादेवी अनाथ आश्रमकी अध्यक्ष मिनादेवी भण्डारीले बताउनुभयो ।
अनाथ बालबालिकालाई सहयोग गरेकोमा आफुहरु निकै खुसि भएको भन्दै आगामी दिनमा पनि सहयोगको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । विभिन्न संघ संस्था र विभिन्न सहयोगी मनहरुको सहयोगले आश्रम चलाउन सफल भएको नेपाल अविनास अनाथ आश्रमका संचालक कृष्ण ज्ञवालीले बताउनुभयो ।
