> समाज > प्यूठानमा ६ हजार ४७१ सवारी कारवाहीमा


प्यूठानमा ६ हजार ४७१ सवारी कारवाहीमा

प्यूठान, ८ साउन । प्यूठानमा गतवर्षकै बराबरीमा सवारी साधन कारवाहीमा परेका छन् ।

एक वर्षको अवधिमा ६ हजार ४७१ सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ट्राफिक प्रहरीले सवारी कारवाहीबाट ३६ लाख ४८ हजार ५ सय रुपियाँ राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६ हजार ४७५ सवारी कारवाहीमा परेका थिए । जसबाट ३५ लाख ७ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।

एक वर्षमा १४ जनाको मृत्यु
सवारी दुर्घटनामा परि एक वर्षमा १४ जनाको मृत्यु भएको छ । वर्षभरी २२ वटा सवारी दुर्घटना भएका छन् । ८ जना पुरुष, ३ जना महिला २ जना बालक र १ जना बालिकाको दुर्घटनामा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि १४ जनाको सवारी दुर्घटनामा ज्यान गएको थियो ।

सचेतनाको अभियानमा ट्राफिक प्रहरी
जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक प्रविण आचार्यले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थी, चालक, परिचालक, व्यवसायी, पैदलयात्रीलाई ट्राफिक सचेतनाको गतिविधि सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

लकडाउनले गर्दा धेरै गतिविधिहरु यसवर्ष गर्न नसकिएपनि चालक तथा यात्रुलाई मास्कको प्रयोग गर्न, सुरक्षित यात्राको लागि सचेत बनाउने काम गर्दै आएको उहाँको भनाई छ । लकडाउन खुलेसँगै पुनः चालक, सहचालकलाई मास्कको प्रयोग, सुरक्षित भौतिक दुरीको व्यवस्था, स्यानिटाइजरको व्यवस्थापन लगायत विषयमा अभियान थाल्न लागिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा ९ जना ट्राफिक प्रहरीको दरबन्दी अहिले पुरा भएको छ । जिल्लाको देविस्थान ट्राफिक प्रहरी कार्यालयसँगै खलंगा, बाग्दुला, विजुवार, भिंगृ र दरभानमा ट्राफिक प्रहरीको व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *