> समाज > स्वास्थ्य सेवा प्रवाहमा गम्भिर छौं : अध्यक्ष विश्वकर्मा


स्वास्थ्य सेवा प्रवाहमा गम्भिर छौं : अध्यक्ष विश्वकर्मा

प्यूठान, ५ साउन । स्वास्थ्य चौकीहरुबाट हुने सेवा प्रवाह तथा व्यवस्थापनमा सरुमारानी गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभएको छ ।

पालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थाको संस्थागत सुदृढिकरण, जनशक्तिको व्यवस्थापन, स्वास्थ्यकर्मीहरुको प्रोत्सहन र सेवा प्रवाहमा आफुहरु प्रतिवद्ध रहेको भन्दै उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवा प्रवाहमा गम्भिर छौं ।’ आर्थिक वर्ष २०७७÷०७८ का लागि स्वास्थ्य सेवा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

आईतवार मानव अधिकार, नागरिक समाज र संचारकर्मीहरुको प्रतिनिधि मुलक टोलीसँगको भेटमा उहाँले यस्तो जानकारी दिनुभएको हो । टोलीले आईतबार नै हंसपुर स्वास्थ्य चौकीको अनुगमन गरेको छ । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)को पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत स्वास्थ्य चौकीको अनुगमन गरी सुधारका लागि स्वास्थ्य संस्था र गाउँपालिका समक्ष सुझावहरु दिईएको कार्यक्रम अधिकृत फम्फा पन्तले जानकारी दिनुभयो ।

अनुगमन टोलीले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिको बैठक नियमित बसी स्वास्थ्यका सवालमा छलफल गर्नुपर्ने, नियमित औषधीको माग तथा आपुर्ति गर्नुपर्ने, सरुवा रोग परीक्षणका लागि छुट्टै कक्षको व्यवस्थापन गर्नुपर्ने, ल्याव समेत संचालन भएकोले दरवन्दी अनुसार स्वास्थ्यकर्मी हुनुपर्ने, स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यक्रमलाई समेतसँगै लैजानु पर्ने, कोभिड संक्रमणको वर्तमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्नुपर्ने लगायतका सुझावहरु दिएको छ ।

प्यूठानका अधिकांस स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिमा रकम तथा योजना माग गर्ने, कर्मचारी भर्ना जस्ता विषयमा मात्र छलफल र निर्णय हुने गरेको मानवअधिकारकर्मी पार्वता आचार्यले बताउनुभयो । समितिमा स्वास्थ्यका सवाल, सेवा प्रवाहका बारेमा समेत छलफल र निर्णय हुनु आवश्यक रहेको उहाँले औल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *