प्युठान । स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा मृत्य भएका व्यक्तिको पोष्ट मार्टम गरिदै छ । मृतकका आफन्तहरु आउने क्रममा रहेको र आएपछि पोष्टमार्टम शुरु हुने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक शुसिल थापामगरले जानकारी दिनुभयो ।
‘एक जना मृतकको आफन्त आउँदै हुनुहुन्छ, उहाँ आएपछि पोष्टमार्टम शुरु हुन्छ ।’ निरीक्षक थापाले प्युठान समाचारलाई भन्नुभयो । स्वर्गद्वारी आश्रम दर्शन गरि फर्किदै गरेको लु १ च ६३४५ नम्वरको कार दुर्घटनामा कारमा सवार ८ जनाको घटनास्थलमा ज्यान गएको थियो ।
मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनको १४ वर्षीय छोरा विशाल पोख्रेल, ९ वर्षीय छोरा विकाश पोख्रेल रहेका छन् ।
त्यसैगरी लमही नगरपालिका-५ का ४९ वर्षीय तारा बहादुर कुमाल, लमही नगरपालिका-७ का ४० वर्षीय गोविन्द शाह, उनको ३० वर्षीया श्रीमती राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् । त्यसैगरी राप्ती गाउँपालिका-७ का ११ वर्षीय शिसिर सुवेदीको दुर्घटनामा ज्यान गएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त
स्वर्गद्वारी दर्शन गरि फर्किएका भक्तजनको कार दुर्घटनामा मृत्यु भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गर्नुभएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
यसैबीच, प्रतिनिधिसभा सदस्य सूर्य थापाले संसदमा बोल्दै भिंगृ-स्वर्गद्वारी सडकलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । २०६५ सालमा ट्रयाक खोलिएको सडकमा हालसम्म ५० जनाभन्दा बढी व्यक्तिले दुर्घटनामा ज्यान गुमाउन परेको भन्दै सडक सुरक्षामा ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।
यसैबीच, नेकपा(एमाले) प्युठानले बक्तव्य जारी गरी घटनाप्रति दुःख व्यक्त गरेको छ । एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले सडकको सुरक्षा, सवारी साधनको अवस्था, यात्रुको संख्या लगायतका विषयमा स्थानीय प्रशासनले गम्भीर भएर काम गर्नुपर्ने बताउनुभएको छ ।
यसैबीच राष्ट्रिय जनमोर्चा प्युठानले दुर्घटनामा ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
अध्यक्ष ज्ञामुराम न्यौपानेले स्वर्गद्वारी सडक खण्डमा स्तरिय सडक, सडकसुरक्षा प्रविधि र चालक सतर्कता सूचक बोर्डहरुको अभावमा पटक पटक यस्ता भयाबह घटनाहरू दोहोरीरहेको भन्दै सम्बन्धि पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।






