प्यूठान । जेनजी आन्दोलन पछि गठन भएको सरकारले संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्यलाई पुनः सुचारु गरेको छ । तर प्यूठानमा भने मतदाता नामावली दर्तामा आकर्षण देखिएको छैन ।
मतदाता नामावली दर्ताका लागि नियमित जस्तै सेवाग्राही आउने गरेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । ‘नयाँ नागरिकता बनाउने सेवाग्राही आउनुहुन्छ ।’ ,कार्यालयका सूचना अधिकारी टंकबहादुर चौधरीले भन्नुभयो, ‘फाट्टफुट्ट अन्य सेवाग्राही आउने गरे पनि निर्वाचन लक्षित सेवाग्राही आउने गरेका छैनन ।’ अनलाईन मार्फत विवरण उपलब्ध गराउन सकिने सुविधा भए पनि कार्यालयबाटै उक्त सेवा दिने गरिएको उहाँले बताउनुभयो ।
स्थगित भएको मतदाता नामावली संकलन कार्य निर्वाचन लक्षित गरी आयोगले यहि कात्र्तिक ३० गतेसम्म संचालन गरिरहेको छ । १६ वर्ष उमेर पुर भई नेपाली नागरिकता प्राप्त नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्छन् । निर्वाचन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म नाम दर्ता गर्न सकिने जनाएको छ । आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेसन प्रणालीबाट आवेदन भरी जैविक (बायोमेट्रिक) विवरण कार्यालय मार्फत उपलब्ध गराउनुपर्ने हुन्छ ।
यसअघि सम्वन्धीत निर्वाचन कार्यालयमा जानुपर्ने बाध्यता रहेकोमा यस पटक जुनसुकै निर्वाचन कार्यालय मार्फत फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने भएकाले पनि जिल्ला निर्वाचन कार्यालयमा सेवाग्राहीको आकर्षण नभएको हुन सक्ने अनुमान गरिएको छ ।
नाम दर्तासँगै विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्ने र नाम तथा अन्य विवरणमा त्रुटि भएमा सच्चाउन सकिन्छ । मतदाता नामावलीमा नाम दर्ता कार्यमा सघाउन स्थानीय पालिकाहरुले समेत सार्वजनिक सूचना आव्हान गरेका छन् । समयसिमा र आवश्यक कागजात बारे जानकारी दिँदै प्यूठान र स्वर्गद्धारी नगरपालिकाले नाम दर्ता गर्न सकिने सूचना जारी गरेका हुन् ।
प्यूठानमा कुल १ लाख ६१ हजार ६८० मतदाता रहेको छन् । जसमा ८२ हजार ७२० महिला र ७८ हजार ९५९ पुरुष मतदाता रहेका छन् । १६ वर्ष उमेरमा मतदाता नामावलीमा नाम दर्ता सकिने भए पनि १८ वर्ष उमेरमा मात्र मतदात गर्न सकिने कानुनी व्यवस्था छ ।
अनलाईन फारम भर्नका लागि यो लिङ्कमा जानुहोस् । https://applyvr.election.gov.np/
