> स्थानीय सरकार > गौमुखीको सार्वजनिक सुनुवाई


गौमुखीको सार्वजनिक सुनुवाई

प्यूठान समाचार सम्वाददाता
पुँजा, १७ फागुन ।
गौमुखी गाउँपालिकाले दोस्रो चौमासिकसम्म सम्पन्न गरेका आफ्ना गतिविधिको बारेमा सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार गाउँपालिकामा सार्वजनिक सुनुवाई आयोजना गरि गाउँपालिकाले गरेका गतिविधिका बारेमा सार्वजनिक रुपमा जानकारी गराएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । पन्थीले प्रस्तुत गर्नुभएको प्रतिवेदनका अनुसार एक हजार ४६० घर परिवारले आफ्नो घरको छाना जस्तापाताले छाइसकेका छन । यस वर्र्ष ११६ घर परिवारको लागी जस्तापाता टेन्डर प्रक्रिया अगाडि बढेको छ । प्रतिवेदनमा १९८ जना सहभागी अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सुबिधा सम्पन्न सभाहल निर्माणको क्रममा रहेको, वडा भबन, बिद्यालयका पुर्वाधार, कृषि, खानेपानी, ४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको उल्लेख छ ।

त्यसैगरी, गौमुखी गाउँपालिकाको नाममा ३ रोपनी जग्गा प्राप्त गरेको, प्युठान जिल्लाले गौमुखी गाउँपालिकाको ऐतिहासिक धार्मिक पर्यटकिय तिर्थस्थल गौमुखीबाट नेपाल भ्रमण बर्ष २०२० शुभारम्भ गरिएको, ३ वटा वडामा ईन्टरनेट जडान, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको तथ्यांक संकलन र मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम लगायतका कार्यक्रमको जानकारी पन्थीले गराउनुभएको छ ।

कार्यक्रममा सहभागीले चालु आर्थिक वर्षमा विनियोजन गरेको कृषि क्षेत्रको बजेट रकमान्तर गरी सडकमा छुट्याएको भन्दै गुनासो गरेका थिए । त्यसैगरी कर्मचारी अभावमा सेवा पाउन समस्या भएको, स्वास्थ्य सेवा सहज नभएको गुनासो सहभागीले राखेका थिए ।

सहभागीबाट उठेका गुनासाको सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले पालिकाको समग्र विकासका लागि काम भइरहेको बताउनुभयो । समृद्ध गाउँपालिका निर्माणका लागि स्थानीयले पनि भूमिका निर्वाह गनुपर्ने भन्दै विकास निर्माणका क्षेत्रमा सहकार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सहजीकरण युथ मिडिया डेभलप्मेन्ट सेन्टर नेपालले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!