प्यूठान । नेपालको इतिहासमा कालो दिन ।
राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिने गरी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते अर्थात आजै कै दिन नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्यको हत्या भएको थियो ।
गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो । त्यसको तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । यसैकारण पनि जेठ १९ लाई नेपाली इतिहासमै कालो दिनका रूपमा लिने गरिन्छ ।
घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको निकर्ष निकालेको थियो तर यसलाई धेरैले पत्याएका छैनन् । अहिलेसम्म त्यो हत्याकाण्डलाई धेरैले रहस्यमय नै मान्छन् ।
वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन । ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । माओवादी सशस्त्र युद्ध र ६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो ।
