प्यूठान । एसियाली हाप्किडो च्याम्पियनसिप प्रतियोगिता तथा अन्तर्राष्ट्रिय मास्टर सेमिनार २०२२ मा सहभागी हुन नेपाली टोली उज्बेकिस्तान प्रस्थान गरेको छ ।
नेपाल मार्सल आर्ट हाप्किडो संघका अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा प्यूठानका एक खेलाडी सहित ७ सदस्य टोली उज्जेकिस्तान प्रस्थान गरेको हाप्किडो संघ प्यूठानका अध्यक्ष टेकराज के.सी.ले जानकारी दिनुभयो ।
उज्बेकिस्तानको फर्गानामा २९ जुन देखि ३ जुलाईसम्म प्रतियोगिता हुँदैछ । प्रतियोगितामा विजया कुमारी वाइवा, भुवन बुढा मगर, प्रवीण गुरुङ, कृती गिरि र प्यूठानका गुमान घर्ती मगरले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो सङ्घकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहनुभएको छ। जुलाई १ र २ तारिखमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्ने खेल तालिका रहेको छ ।
हाप्किडो संघ प्यूठानका अध्यक्ष केसीका अनुसार मगर नौबहिनी गाउँपालिका १ स्याउलिवाङका खेलाडी हुन् । मगरले हाप्किडो संघ प्यूठानको खेलाडीको रुपमा खेल्दै आएको जानकारी दिनुभयो ।
जिल्लामा पछिल्लो समय हाप्किडो प्रति आकर्षण बढ्दै गएको समेत उहाँले बताउनुभयो । माण्डवी गाउँपालिका , नौबहिनी गाउँपालिका, मल्लरानी गाउँपालिका, प्यूठान नगरपालिकाको विद्यालयमा हाप्किडो खेल्ने विद्यार्थी बढ्दै गएको अध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।






