प्यूठान –विभिन्न विपद्को समयमा प्रभावित व्यक्ति तथा समुदायसँग नजिक रहेर रेडक्रसले काम गर्ने गर्दछ । अहिले कोरोना संक्रमणको महामारी विश्वव्यापी छ । अहिलेको विपद्को समयमा पनि रेडक्रसले आफ्नो सहयोगलाई जारी राखेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले जिल्लाका स्थानीय तहलाइ आइसोलेसन वार्ड तयार गर्न र क्वारेन्टाइन निर्माणको लागि सहयोग गर्दै आएको छ । त्ससका लागि रेडक्रसले आवश्यक सामाग्री कम्वल, त्रिपाल र बाल्टिन हस्तान्तरण गरेको छ । जिल्लाभर ३४७ थान कम्बल, २० थान त्रिपाल र १६० थान बाल्टीन हस्तान्तरण गरिसकेको शाखाका मन्त्री दामोदर शर्माले जानकारी दिनुभयो ।
क्वारेन्टाइन व्यवस्थापनमा खटिने स्वयंसेवक तथा स्वास्थ्यकर्मीको लागि जिल्ला अस्पताल प्यूठान, प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ र प्राथमिक स्वास्थ्य केन्द्र खंलगामा कम्बल, सर्जिकल मास्क, स्यानिटाइजर, बाल्टीन, सावुन वितरण गरेको छ ।
जिल्ला समन्वय समित प्यूठानको पहल, संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोग तथा रेडक्रस प्यूठानको सहजीकरणमा यूएनएफपीएबाट प्राप्त मर्यादा किट वितरण गरिरहेको छ ।
मर्यादा किटमा ११ देखी १९ बर्ष समूहका किशोरी र २० बर्ष माथिका महिलाहरुलाई आवश्यक पर्ने सामाग्री हुने गर्दछ । महिला तथा किशोरीलाई सरसफाईका लागि आवश्यक पर्ने काइँयो, ब्रस, मञ्जन, नुहाउने÷कपडा धुने साबुन, तौलीया(गम्छा), सारी, धोती, पेटिकोट, भित्रि बस्त्र, महिनावारी कपडा(पुनः प्रयोग गर्न मिल्ने), सिट्ठी लगायतका सामाग्री मर्यादा किटमा रहेका छन् । ११० थान किट वितरण कार्य भइरहेको शाखाका सभापति गुमानराज पुलामीले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समतिको निर्णयानुुसार सरुमारानी–२ ददेरीमा स्थापना गरिएको हेल्प डेस्क (अस्थायी विश्राम स्थल)को खर्च व्यवस्थापनको लागि जिल्लाका सम्पूर्ण पालिकाहरुले रेडक्रस प्यूठान (नेपाल रेडक्रस सोसाइटी दैवी प्रकोप उद्धार कोष) को खातामा रकम जम्मा गर्ने निर्णय भएको र सोही अनुसार रेडक्रस प्यूठानले विल, भरपाईको आधारमा हेल्प डेस्कमा भएको खर्च रकम भुक्तानीको व्यवस्थापन गर्ने गरी काम भएको उहाँको भनाई छ ।
शाखाले १ जना नेपाली र २४ जना भारतीय नागरिक (मजदुर÷श्रमिक) लाई प्रति व्यक्ति ४ के.जी. चामल, १ के.जी.नुन र आधा के.जी. दाल र आधा लिटर तेल राहत स्वरुप उपलब्ध गराएको छ ।
रेडक्रस अन्र्तगत एम्बुलेन्स सेवा र रक्त सञ्चार सेवा पनि नियमति रुपमा सञ्चालन भैरहेको समेत सभापती पुलामीले बताउनुभयो ।
