> Uncategorized > नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक


नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक

प्यूठान, ७ जेठ । नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपतिबाट घोषणा भए बमोजिम नेपालको राजनैतिक एवम् प्रशासनिक नक्साको नयाँ संस्करण सार्वजनिक भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले े नक्साको नयाँ संस्करण सार्वजनिक गर्नुभएको हो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अर्यालले नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण भएको बताउनुभयोे । उहाँले भन्नुभयो, नेपालमा मात्र होइन सिंगो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मन पनि बदलिएको छ । त्यतिमात्र होइन नेपालको बदलिएको मानचित्रले जनताको मनोबललाई अझ उच्च बनाएको छ ।

उहाँले सीमाका विषयमा सिंगो राष्ट्र एक ढिक्का भएको भन्दै ऐतिहासिक घडीमा दृढ संकल्प र अटल आत्मविश्वासका साथ संकलन गरेका यथेष्ठ प्रमाणहरुका आधारमा यस अघि नक्सामा छुटाइएका भूभाग समेटेर अद्यावधिक नक्सा सार्वजनिक गर्ने विन्दुमा आइपुगेको उहाँको भनाई थियो ।

सन् १८१६ मार्च ४ मा तत्कालीन ईष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धीअनुसार काली नदी र सो भन्दा पूर्बको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको तर हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्बका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७÷०२÷०४ गतेको बैठकले नेपालको अद्यावधिक राजनीतिक प्रशासनिक नक्सा स्वीकृत गरी लागू गर्न निर्णय गरेको छ ।

यस बिषयमा जग्गा नापजाँच नियमावली बमोजिम गठित समितिको मिति २०७६÷११÷१३ को बैठकले उक्त भूभाग समेटी नक्सा प्रकाशन गर्न गरेको सिफारिस एवं यस बिषयमा संघीय संसदको विभिन्न समितिहरुका बैठकले निर्देशन दिएको थियो । उक्त अद्यावधिक नक्सा प्रकाशनको लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट मिति २०७७÷०२÷०४ गते सहमति प्राप्त भएको थियो ।

राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण्ण राख्न देशको सिमानाको स्पष्ट अभिलेख महत्वपूर्ण हुने र सो को लागि देशको सम्पूर्ण भूभाग स्पष्टसँग देखिने नक्सा प्रकाशन गरी प्रचलनमा ल्याउन अत्यन्त आवश्यक रहेको सन्दर्भमा विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाभी, कुटी लगायतका भूभाग समेटी ती भूभाग समेत देशको सिमानाभित्र पर्ने गरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक, राजनितिक, प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्ने निर्णय भएबाट नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ । आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध रहेको मन्त्री अर्यालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *