प्यूठान, ६ जेठ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारको कामको चौतर्फी रुपमा स्वागत गरिएको छ ।
हिजो मन्त्रिपरिषद बैठकले करीव ३९५ वर्ग किलोमिटर भुमी थप गरेर बनाएको नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय ७६ वर्ग किलोमिटर भएको छ ।
सरकारको यस निर्णयसँगै प्रतिपक्ष लगायत दलका नेता कार्यकर्ताले सरकारको कामको स्वागत गर्दै सरकारलाई बधाई दिएका छन् । उनीहरुले नयाँ नक्सा जारी गर्न सफल भएसँगै सरकारले उक्त अतिक्रमित भूभाग नेपालमा ल्याउन समेत आग्रह गरेका छन् ।
नेकपा (मसाल)ले नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि शाहसिलो कदम उठाउनुपर्ने जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गरिएको बक्तव्यमा भनिएको छ, त्यस सन्दर्भमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।
