> राष्ट्रिय > अझै पुरानो गाविस भवन र भाडामा छन वडा कार्यालय


अझै पुरानो गाविस भवन र भाडामा छन वडा कार्यालय

सुजल श्रेष्ठ

प्यूठान । आठ वडा रहेको नौबहिनी गाउँपालिकाको चार वटा वडाको आफ्नै भवन छ भने बाँकी चार वटा वडाले साविकका गाविस भवनबाट सेवा दिइरहेका छन् । पुरानो गाविस भवनबाट ती वडा कार्यालयले सेवा दिइरहेका छन् ।

 

नौबहिनी गाउँपालिका ४ नम्वर वडाका वडा अध्यक्ष भिम बहादुर घर्तिमगरले नयाँ भवन नबन्दा पुरानो गाविस भवनबाट सेवा दिइरहेको बताउँनुभयो । पालिकाको प्रवक्ता समेत रहनुभएका घर्तिमगरले यो वर्ष भवन बनाउने योजना रहेको सुनाउनुभयो । ‘जग्गादातालाई निवेदन दिन आह्वान गरेकोमा ४ वटा निवेदन परेको थियो,’ उहाँले भन्नुभयो, ‘जग्गा छनौटको काम भइसकेको छैन, सर्वदलिय बैठक बसेर टुंगो लगाउने योजनामा छौं ।’ भवन निर्माणका लागि पालिकाबाट बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

 

मल्लरानी गाउँपालिकाको पाँच वटा वडामध्ये दुई वटा वडाले गाविसको भवनबाट सेवा दिइरहेका छन् । पहिले गाविस हुँदा बनेका भवनबाटै सेवा प्रवाह भइरहेको छ । एक नम्वर वडा कार्यालयको भवन नहुँदा अहिलेसम्म घर भाडामा लिएर सञ्चालन भएको वडा सदस्य कमल पौडेलले बताउनुभयो । ‘भवन अहिले बनेको छ,’वडा सदस्य पौडेलले भन्नुभयो, ‘फिनिसिंगको काम भइसकेको छैन ।’

 

फोटो क्याप्सन : नौबहिनी गाउँपालिका-५ डामृको वडा भवन । पुरानो गाविस भवनबाट वडा कार्यालय सञ्चालनमा छ । तस्विर : सुजल श्रेष्ठ

ऐरावती गाउँपालिकाको छ वटा वडामध्ये एउटा वडा गाविस भवनबाट सञ्चालनमा छ । सरुमारानी गाउँपालिकाको छ वटा वडामध्ये दुई वटा वडा पुरानो गाविस भवनबाट सञ्चालन भइरहेको छ । बाँकी चार वटा वडामा नयाँ भवन बनेको गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले जानकारी दिनुभयो । ‘छ नम्वर वडाको नयाँ भवन गत वर्ष पहिरोले बगायो,’ उहाँले भन्नुभयो ।

 

प्युठान नगरपालिकाका दश वडामध्ये तीन वटा वडा घर भाडामा लिएर सञ्चालन भएको छ । बाँकी सात वटा वडामध्ये केहि पुरानो गाविस भवनमा त केहि नयाँ भवनबाट सेवा दिएका छन् । स्वर्गद्घारी नगरपालिकाको नौ वटा वडामध्ये अहिलेसम्म दुई वटा वडाको भवन बनिनसकेको प्रवक्ता सुरज विकले जानकारी दिनुभयो ।

 

झिमरुक गाउँपालिकाको आठ वडामध्ये चार वटा वडा पुरानो गाविस भवनबाट सञ्चालनमा छन् । पालिकाभित्रका चार वटा वडामा नयाँ भवन बनेको छ । स्थानीय तह बनेपछि १, ३, ४ र ६ नम्वर वडामा नयाँ भवन बनेको हो । गौमुखी गाउँपालिकाको सात वटै वडामा वडा भवन बनेको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । ‘सवै वडामा नयाँ भवन बनेका छन् ।’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *