स्थानीय सरकार

सरुमारानीका उद्यमीहरुलाई कर्जा र उत्पादनको बजारीकरणका विषयमा अभिमुखिकरण

प्यूठान । स्थानीय श्रोतमा आधारित लघु उद्यम संचालनका लागि कर्जा र उत्पादनका बजारीकरणका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सरुमारनी गाउँपालिकामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत उद्यमीहरुलाई अभिमुखिकरण दिइएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई बजारसँग जोड्दै उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा बजार व्यवस्थापन, वित्तीय पहुँच, ब्रान्डिङ, प्याकेजिङ तथा व्यवसाय विस्तारका विषयमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा प्राइम कमर्सियल बैंकका शाखा प्रबन्धक भीष्मकुमार चौधरीले लघु कर्जाको पहुँच, कर्जाको सही उपयोग, बचत संस्कार तथा वित्तीय अनुशासनका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले योजनाबद्ध रूपमा कर्जा परिचालन गर्न सके साना उद्यम पनि सफल व्यवसायमा रूपान्तरण हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

ऐरावती बहुउद्देश्यीय कृषि सहकारी संस्थाका व्यवस्थापक रेवती खनालले उत्पादनको गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ, बजार विश्लेषण तथा आधुनिक बजारीकरणका विविध पक्ष बारे सहजीकरण गर्नुभयो । उहाँले उत्पादनसँगै बजारको माग र उपभोक्ताको रुचि अनुसार रणनीति अपनाउन सके स्थानीय उत्पादनले पनि राम्रो बजार प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रशासकिय अधिकृत लक्ष्मण आचार्य, प्राइम कमर्सियल बैंकका कर्जा विभाग प्रमुख दीपक ज्ञवाली, नेपाल स्वास्थ्यका लागि पानी परियोजनाका प्रमुख लोकबहादुर भाट, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख प्रजेस चौधरी, मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख नवीन केएम, सक्रिय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सरस्वता खनाल, साना किसान कृषि सहकारी संस्था लिमिटेडकी व्यवस्थापक दिलमाया जि.सी., शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक टेम्पल सारु मगर लगायतको सहभागीता रहेको थियो ।

गरिबी न्यूनीकरण र आर्थिक समृद्धिको प्रमुख आधार नै उद्यमशीलता विकास रहेको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनभुयो । स्थानीय स्रोत, सीप र श्रमको उपयोग गर्दै उत्पादनमा जोडिएका उद्यमीहरूलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहजीकरण गर्न गाउँपालिका प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा मेड्पा कार्यक्रमको योगदान उल्लेखनीय रहेको गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले बताउनुभयो ।

Related Articles

Back to top button