प्यूठान । शनिवार र आइतबार चट्याङ लागेर प्यूठानमा दुई जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् । घाइते ४ जनाको अस्पतालमा उपचार भैरहेको छ । ७ जना डिस्चार्ज भएका छन् ।
चट्याङ लागेर गौमुखी गाउँपालिका–६ लिवाङका ७० वर्षिय केदार बोहरा क्षेत्र र उनका २७ वर्षिय छोरा रामु बोहरा क्षेत्रको मृत्यु भएको हो । उपचारका लागि घाइते अवस्थामा जिल्ला अस्पताल प्यूठान ल्याईएका उनीहरुलाई आइतबार साँझ चिकित्सकले मृत्त घोषणा गरेका थिए । दुबै जनाका बाहिरी चोट देखिएको थिएन ।
आइतबार नै चट्याङ लागेर गौमुखी गाउँपालिका–६ लिवाङकी ५८ वर्षिय बोमी बोहरा, गौमुखी गाउँपालिका–४ पुँजाकी २४ वर्षिय सिर्जना न्यौपाने घाइते भएका छन् । शनिवार परेको चट्याङ लागेर माण्डवी गाउँपालिका–२ रातापानीकी २० कल्पना अधिकारी र उनी १६ वर्षिय बहिनी सपना अधिकारी घाइते भएका छन् ।
उनीहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिनुभयो ।
शनिार चट्याङ लागेर नौबहिनी गाउँपालिका–७ सुरदिपका ४२ वर्षिय टेकिसरा बुढाथोकी, १५ वर्षिय पारस बुढाथोकी, ८ वर्षिय रमेश खड्का, मल्रानी गाउँपालिका–२ स्यालाका ४३ वर्षिय माधवी सुनार, १० वर्षिय विनिता सुनार, ७३ वर्षिय लाल कुमारी पुन र ३५ वर्षिय इश्वरी भुसाल घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि डिस्चार्ज गरिएको छ ।



